बेलौरी, कञ्चनपुर, असार ८ गते।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म बेलौरीले कञ्चनपुरको सीमावर्ती क्षेत्रका विद्यालयहरूमा लागुऔषध र मादक पदार्थ विरुद्धको सचेतना अभियानलाई तीव्रता दिएको छ। यसै अभियान अन्तर्गत सोमबार कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित सिद्धबाबा एकेडेमीमा एक विशेष सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेत स्वयं उपस्थित भई कक्षा ६ देखि १० सम्मका ८० जना विद्यार्थीहरूलाई लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवनबाट हुने बहुआयामिक असरहरूका बारेमा विस्तृत प्रशिक्षण दिनुभएको थियो।

खुला सीमा र भौगोलिक संवेदनशीलताका कारण भविष्यका कर्णधार मानिने किशोरवस्थाका विद्यार्थीहरू सजिलै गलत सङ्गत र भ्रममा परेर दुर्व्यसनको दलदलमा फस्न सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले विद्यालय तहलाई नै मुख्य लक्षित गरी यो अभियान सञ्चालन गरेको हो। प्रशिक्षणका क्रममा गुल्मपति बस्नेतले लागुऔषध र मदिरा सेवनले व्यक्तिको शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा पार्ने गम्भीर नकारात्मक असरहरूका बारेमा प्रष्ट पार्नुभयो। उहाँले यससँग जोडिएका कानुनी प्रावधानहरू र कुलतबाट जोगिने उपायहरूबारे विद्यार्थीहरूलाई सचेत गराउनुभएको थियो।
युवा पुस्तालाई सानै उमेरदेखि सही र गलत छुट्याउन सक्ने सक्षम नागरिक बनाई समाजलाई अपराधमुक्त, सुरक्षित र स्वस्थ राख्नका लागि यस्ता विद्यालय केन्द्रित सचेतना कार्यक्रमहरू निकै प्रभावकारी र अपरिहार्य रहने विश्वास सशस्त्र प्रहरीले लिएको छ। सीमा क्षेत्रमा बढ्दो सामाजिक चुनौतीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय र शैक्षिक संस्थाबीचको यो सहकार्य आगामी दिनमा पनि निरन्तर रहने संकेत गुल्मले दिएको छ। यसअघि पनि बेलौरी क्षेत्रका विभिन्न विद्यालयहरूमा सचेतना कार्यक्रमहरू गुल्मले सम्पन्न गरिसकेको जानकारी गुल्मपतिले दिनुभयो।





