बेलौरी (कञ्चनपुर) ।
सुदूरपश्चिम प्रदेशको ऐतिहासिक तथा पर्यटकीय क्षेत्र कञ्चनपुरको बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगर प्रमुख पोतीलाल चौधरीले नगर सभाको १७ औं अधिवेशनमा ‘दिगो कृषि, पर्यटन, व्यापार र उत्थानशील पूर्वाधारः समृद्ध बेलौरीको मूल आधार’ भन्ने दीर्घकालीन सोचसहितको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।

सो सभामा नीति तथा कार्यक्रमका केही महत्त्वपुर्ण अंशहरूको वाचन नगरपालिकाका नगर प्रवक्ता हर्क भुलले समेत गर्नुभएको थियो। व्यापक छलफल र जनप्रतिनिधिहरूको सकारात्मक सल्लाह सुझावपश्चात उक्त नीति तथा कार्यक्रम नगर सभाबाट औपचारिक रूपमा पारित भएको छ। प्रस्तुत नीति तथा कार्यक्रमले परम्परागत शैलीभन्दा माथि उठेर आधुनिक प्रविधिको उपयोग, श्रमको सम्मान र उद्यमशीलतामार्फत नगरवासीको जीवनस्तर उकास्ने लक्ष्य राखेको देखिन्छ। विशेष गरी ‘सूचना प्रविधि सुशासन र सदाचार, स्मार्ट बेलौरीको बलियो आधार’ भन्ने नाराका साथ नगरपालिकाले डिजिटल सेवा प्रवाह र पारदर्शितालाई मुख्य केन्द्रविन्दु बनाएको छ।

कृषिलाई मुख्य आर्थिक खम्बा मान्दै नगरपालिकाले यस वर्ष नवीन कार्यक्रमहरू अघि सारेको छ। केराको उपउत्पादन थाम (काण्ड) बाट धागो र डोरी उत्पादन गर्ने उद्योग स्थापना गर्ने नीति लिइएको छ भने ५० प्रतिशत अनुदानमा खाद्यान्न, तरकारी, र कृषि औजार वितरण गर्ने घोषणा गरिएको छ। किसानहरूलाई रासायनिक मलको सट्टा जैविक मलको प्रयोगमा जोड दिने नीति नगरपालिकाको छ। त्यस्तै, युवा जनशक्तिलाई रोजगार र प्रविधिसँग जोड्नका लागि एक अनौठो कार्यक्रम ल्याइएको छ। बेलौरीको पर्यटन क्षेत्रको प्रचार–प्रसारका लागि युवाहरूलाई ड्रोन क्यामेरा चलाउने आवश्यक तालिम दिई पर्यटन र रोजगारीलाई सँगै लैजाने नीति लिइएको छ। लघु उद्यम विकासतर्फ ‘एक घर एक उद्यमी, एक वडा एक उत्पादन, एक वडा एक उद्योग’ अभियान सञ्चालन गरी स्थानीय स्रोत साधनको अधिकतम उपयोग गरिने नगर प्रमुख चौधरीले उल्लेख गर्नुभयो।

स्वास्थ्य क्षेत्रमा बेलौरीले जनस्वास्थ्यका गम्भीर चुनौतीहरूलाई सम्बोधन गर्ने प्रयास गरेको छ। पालिकाभित्र रैथाने जनस्वास्थ्य समस्याको रूपमा रहेको ‘सिकलसेल एनेमिया’ र ‘थालासेमिया’ रोग नियन्त्रणका लागि विवाहपूर्व अनिवार्य रूपमा जाँच गर्नुपर्ने नीति ल्याइएको छ, जसलाई स्वास्थ्य क्षेत्रका विज्ञहरूले सकारात्मक कदमका रूपमा लिएका छन्। शिक्षातर्फ सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि ‘पढ्दै कमाउँदै’ कार्यक्रम, प्रत्येक विद्यालयमा ई-हाजिरीको व्यवस्था र लोकसेवा तथा शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने महत्त्वाकाङ्क्षी योजना अघि सारिएका छन्। भौतिक पूर्वाधारतर्फ बेलौरी, कलकत्ता र गोकुलपुर बजार क्षेत्रलाई व्यवस्थित, सौन्दर्यीकरण र एकरूपता कायम गर्न “कलर कोडिङ” प्रणाली लागू गरिने भएको छ। बेलौरी रिङरोड निर्माणका लागि सङ्घ र प्रदेश सरकारसँग पहल गर्नुका साथै बेलौरी–कलुवापुर सडक खण्ड र हुलाकी राजमार्गलाई फोर लेन बनाउन समन्वय गरिने नीतिमा उल्लेख छ। लामो समयदेखि थाती रहेको भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीहरूको समस्या समाधानका लागि आगामी आर्थिक वर्षदेखि जग्गा धनी पुर्जा (लालपुर्जा) वितरण कार्यलाई तीव्रता दिइने प्रतिबद्धता जनाइएको छ।






