कञ्चनपुर कारागारबाट फरार दुई जना अपराधी नौ महिनापछि पुनः पक्राउ

भीमदत्तनगर, कञ्चनपुर।

कञ्चनपुर कारागारबाट गत वर्ष भदौमा सुरक्षा घेरा तोडेर फरार भएका दुई जना गम्भीर मुद्दाका प्रतिवादीहरूलाई कञ्चनपुर प्रहरीले नौ महिनापछि पुनः पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भदौ २४ गते कारागारबाट भागेका उनीहरूलाई प्रहरीको विशेष टोलीले आज जेठ २१ गते नियन्त्रणमा लिन सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा सार्वजनिक गरिएको आधिकारिक अनुसार पक्राउ पर्नेहरूमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणी बस्ने मदन चौधरी र कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १३ राजपुर बस्ने अर्जुन खड्का रहेका छन्। पक्राउ परेका मध्ये चौधरी जबरजस्ती करणी मुद्दामा अदालतबाट १८ वर्ष कैद सजाय तोकिएका कडा सजायका भागीदार हुन् भने खड्का लागुऔषध खैरो हिरोइन मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भएका व्यक्ति हुन्।लुकिछिपी बसिरहेको अवस्थामा फेला परेका उनीहरूलाई गोप्य सूचनाका आधारमा प्रहरीले घेराबन्दी गरेर समात्न सफल भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विरेन्द्र सिंह थापाका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कानुनी प्रक्रिया र थप अनुसन्धान पूरा गरी पुनः कैद भुक्तानका लागि कारागार चलान गरिने प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ