बेलडाँडी (कञ्चनपुर), ५ असोज ।
कञ्चनपुरको बेलडाँडी गाउँपालिका ४ गौरीमा स्थानीय बासिन्दा हिउँकला खत्रीको गोठमा आज अचानक आगलागी भएको छ। समयमै सुरक्षाकर्मी र स्थानीय बासिन्दाको संयुक्त प्रयास जुट्न सकेका कारण सम्भावित ठूलो मानवीय तथा भौतिक क्षति हुनबाट जोगिएको छ।

प्राप्त जानकारी अनुसार आज असोज ५ गते बेलुकी अन्दाजी पौने आठ बजेको समयमा उक्त गोठमा अचानक आगो लागेको थियो। आगलागीको खबर प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल, बि.ओ.पि. झिलमिलाबाट सशस्त्र प्रहरी सहायक निरीक्षक उद्धव बहादुर चन्दको कमाण्डमा १३ जनाको टोली र प्रहरी चौकी झिलमिलाबाट प्रहरी सहायक निरीक्षक विरेन्द्र बहादुर खड्काको कमाण्डमा ५ जनाको टोली तत्कालै घटनास्थलमा खटिएको थियो।

सुरक्षा निकायका प्रतिनिधिहरू र स्थानीय बासिन्दाहरूको अथक प्रयास एवं समन्वयका कारण करिब तीन चौथाइ घण्टाको अन्तरालमा, अर्थात् राति ८:३० बजे नै आगो पूर्ण रूपमा नियन्त्रणमा लिन सफल भइएको छ। आगलागीबाट गोठमा भएको क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको स्थानीय प्रहरी चौकीले जनाएको छ।
अपडेट :
साथै, उक्त आगलागीबाट हिमकला खत्रीको कच्ची गौशालाको काठ, ५० के.जी. गहुँ तथा १ ट्रली भुसा जली अन्दाजी रु. १,५०,०००।– (एक लाख पचास हजार रुपैयाँ) बराबरको क्षति भएको र अन्य मानवीय तथा पशुचौपायाको क्षति नभएको जानकारी आएको छ।





