धनगढी,
सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिकामा बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री हस्तान्तरण गरेको छ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत पठाइएको सो राहत सामग्री आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम डगौरा थारूले दार्चुलाको लेकम गाउँपालिकाका अध्यक्ष रामदत्त जोशी लगायत स्थानीय प्रतिनिधि तथा बाढीपीडितहरूलाई हस्तान्तरण गर्नुभएको हो। व्यास गाउँपालिका–४, मणगाउँमा बाढीबाट प्रभावित स्थानीय बासिन्दाको तत्कालीन आवश्यकतालाई सम्बोधन गर्न प्रदेश सरकारले उक्त सामग्री पठाएको जनाएको छ।
हस्तान्तरण गरिएका राहत सामग्रीहरूमा पचास थान कम्बल र चालीस थान टेन्ट लगायतका अत्यावश्यक वस्तुहरू रहेका छन्। प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकहरूको जीवन सहज बनाउन सरकार सदैव गम्भीर रहेको र पीडितहरूको आवश्यकताअनुसार थप सहयोगका लागि प्रदेश सरकार तयार रहेको मन्त्री थारूले बताउनुभयो।





