बेलौरी (कञ्चनपुर)।
प्रतिनिधि सभाको बैठकमा कञ्चनपुरकी सांसद निराशा चौधरीले जिल्लामा बढ्दो मानव वन्यजन्तु द्वन्द्वका कारण नागरिकले भोगिरहेको जनधनको क्षति रोक्न तथा वर्षौंदेखि अलपत्र परेका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ।
संसद्मा आफ्नो मन्तव्य राख्दै सांसद चौधरीले केही दिनअघि बेलौरीस्थित अमर स्मृति सामुदायिक वनबाट आएको चितुवाले स्थानीय डम्मर भट्टको व्यावसायिक फर्मको खोरको जाली तोडेर डेढ सयदेखि दुई सयवटा कुखुरा मारेको घटनाको दृष्टान्त दिँदै कञ्चनपुरमा वन्यजन्तुको जोखिम अत्यधिक बढेको बताउनुभयो। लालझाडी जङ्गल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कञ्चन सामुदायिक वन र जनजागरण सामुदायिक वन क्षेत्रमा हात्ती, चितुवा तथा बाघको आतंकका कारण नागरिक त्रसित जीवन बिताउन बाध्य रहेको उल्लेख गर्दै उहाँले जोखिमयुक्त क्षेत्रमा फेन्सिङ तार र प्रभावकारी निगरानीको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो।
त्यसैगरी, कञ्चनपुरका विभिन्न क्षेत्रमा वर्षौंदेखि सास्ती भोगिरहेका आरक्ष पीडितहरूको समस्या अझैसम्म समाधान नभएकोप्रति उहाँले कडा असन्तुष्टि व्यक्त गर्नुभयो। बेलौरी, पुनर्वास, भीमदत्त, दोधारा चाँदनी, बेदकोट, शुक्लाफाँटा, कृष्णपुर, लालझाडी र बेलडाँडी क्षेत्रका आरक्ष पीडित नागरिकहरू आफ्नो घरखेत छाड्न बाध्य भए पनि सुरक्षित बासोबास र उचित व्यवस्थापनको पर्खाइमा दशकौंदेखि भौंतारिनु परिरहेको उहाँको भनाइ थियो।
लामो समयदेखि न्याय र पुनस्र्थापनाको बाटो हेरिरहेका कञ्चनपुरका आरक्ष पीडितहरूको वास्तविक अवस्था अध्ययन गरी उनीहरूलाई उचित मुआब्जा, वैकल्पिक जग्गा उपलब्ध गराउन तथा मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन संसद्मार्फत सरकारलाई गम्भीर बन्न आग्रह गरिएको छ।





