बेलौरी (कञ्चनपुर)
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत कञ्चनपुरको बेलौरी नगरपालिकाको नगर अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ। बेलौरी उद्योग वाणिज्य संघको सभाहलमा बिहान ८ बजे सुरु हुने यस अधिवेशनबाट नयाँ नेतृत्व चयन हुँदैछ।
अधिवेशनमा बेलौरी नगरपालिकाका विभिन्न वडाबाट छनौट भएर आएका क्षेत्रीय प्रतिनिधिहरूसँगै वडा सभापतिहरू पनि पदेन सदस्यका रूपमा रहनेछन् र उनीहरूले निर्वाचनमा भाग लिन पाउनेछन्।वडाबाट चुनिएका यी प्रतिनिधिहरूले नयाँ नेतृत्वका लागि उम्मेदवारी दिन र मतदान गर्न पाउने प्रावधान रहेको छ।
यसपटकको अधिवेशनबाट कुल उनन्चास सदस्यीय नगर समिति गठन हुनेछ। समितिमा पाँच पदाधिकारी, प्रत्येक वडाबाट दुई जनाका दरले आउने सदस्यहरू, नगरसभापतिबाट मनोनित हुने नौ जना, युवाहरूबाट तीन जना तथा एक महिलासहित दुई जना दलित समुदायका प्रतिनिधिहरू रहनेछन्। पदाधिकारीतर्फ एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव चयन हुनेछन्।
अधिवेशनको तयारीका बारेमा जानकारी दिँदै नेता पेपुराम चौधरीले पार्टीमा देखिएको जनमतलाई समेट्दै निर्वाचनको विकल्पमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफू उम्मेदवार नहुने जानकारी गराउँदै आफूले अन्य आकांक्षीहरूका लागि बाटो खुला गरिदिएको स्पष्ट पार्दै सबै नेता तथा कार्यकर्ताहरूको सहकार्यमा सहमतिमै नयाँ कार्यसमिति चयन हुने विश्वास व्यक्त गरेका छन्।
स्थानीय स्तरमा राजनीतिक महत्वका साथ हेरिएको यस अधिवेशनले बेलौरीमा कांग्रेसको संगठनलाई थप सुदृढ बनाउनुका साथै आन्तरिक लोकतन्त्रलाई अझ परिपक्व बनाउने अपेक्षा गरिएको छ।





