रास्वपा केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रका अगुवा इन्द्र बहादुर कुँवर (आई जङ्ग) को उम्मेदवारी: ‘स्वच्छ राजनीति र सुशासन’ मुख्य एजेन्डा

कञ्चनपुर, असार ५ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आसन्न प्रथम ऐतिहासिक महाधिवेशनमा सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रमा स्थापित सामाजिक व्यक्तित्व इन्द्र बहादुर कुँवर (आई जङ्ग) ले खुल्ला तर्फबाट केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।

चितवनमा आयोजना हुन गइरहेको महाधिवेशनका लागि कुँवरले सामाजिक न्याय, सुशासन र नागरिकको आधारभूत स्वास्थ्य-शिक्षाको एजेन्डासहित चुनावी मैदानमा उत्रिने निर्णय लिनुभएको हो।

लामो समयदेखि स्वास्थ्य सेवा, व्यवस्थापन र सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील कुँवर सुदूरपश्चिमकै अग्रणी स्वास्थ्य संस्थाहरूको नेतृत्व गरिरहनुभएको छ। उहाँ कञ्चनपुरको बेलौरीस्थित इशान मेमोरियल अस्पताल र डोटीको दिपायलस्थित शैलेश्वरी अस्पतालको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ। स्वास्थ्य क्षेत्रको विकृति अन्त्य गर्दै दुर्गम र ग्रामीण भेगका नागरिकसम्म गुणस्तरीय उपचार पुर्‍याउनुपर्ने मान्यता राख्ने उहाँले आफ्नो यसै संस्थागत र व्यवस्थापकीय अनुभवलाई राष्ट्रिय राजनीतिमा उपयोग गर्ने अठोट व्यक्त गर्नुभएको छ।

आफ्नो उम्मेदवारी घोषणा गर्दै कुँवरले भन्नुभयो:

“म सामाजिक न्याय र समानताको ध्येय बोकेर, सुशासन र पारदर्शिताको अठोटका साथ खुल्ला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छु। देशमा रोजगारीको सिर्जना, आर्थिक समृद्धि, र विशेष गरी सर्वसुलभ एवं गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवाको सुनिश्चितता नै मेरो मुख्य लक्ष्य हो।”

पार्टीभित्र र बाहिर स्वच्छ राजनीतिको परिकल्पना र स्वच्छ समाज निर्माणका लागि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको दाबी गर्दै उहाँले देशभरबाट चितवनमा भेला हुने महाधिवेशन प्रतिनिधिहरूसमक्ष अमूल्य मत दिएर विजयी गराउन अपिल गर्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ