सडक बत्ती मर्मत नभएको भन्दै बेलौरीका स्थानीय युवाहरूद्वारा मैनबत्ती बालेर सांकेतिक विरोध

बेलौरी, कञ्चनपुर।

कञ्चनपुरको बेलौरी नगरपालिका अन्तर्गत पर्ने मुख्य सडक खण्डमा विगत एक महिनादेखि सडक बत्ती नबलेको र सम्बन्धित निकायले मर्मतमा चासो नदेखाएको भन्दै स्थानीय युवाहरूले पोल पोलमा मैनबत्ती बालेर अनौठो र सांकेतिक विरोध प्रदर्शन गरेका छन्। नगरपालिकाको तौला राना चोकदेखि भिमदत्त चोक हुँदै पानीट्याङ्की चोकसम्मको मुख्य सडक क्षेत्रका बत्तीहरू लामो समयदेखि बिग्रिएर सडक पूर्ण रूपमा अन्धकार बनेपछि आक्रोशित बनेका स्थानीय युवाहरूले सोमबार साँझ सडकमै उत्रिएर यस्तो विरोध जनाएका हुन्।

गङ्गादशहरा मेला लाग्नु अगाडिदेखि नै बिग्रिएका सडक बत्तीहरू मर्मतका लागि पटक-पटक स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जाल फेसबुक मार्फत सम्बन्धित वडा कार्यालय र नगरपालिकाको ध्यानाकर्षण गराउँदा समेत हालसम्म कुनै सुनुवाइ नभएको स्थानीय युवाहरूको गुनासो छ। व्यस्त बजार क्षेत्र र सवारी साधनको तीव्र चाप रहने यस सडक खण्डमा बत्ती नहुँदा रातिको समयमा दुर्घटनाको जोखिम अत्यधिक बढेको प्रदर्शनमा सहभागी युवाहरूले बताएका छन्। बजार क्षेत्र अन्धकार हुँदा विशेष गरी बिहान तथा बेलुकाको समयमा पैदल यात्रा गर्ने जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारण मारमा परेका छन्।

स्थानीय युवाहरू विष्णु अवस्थी, भूपेश पाण्डे, केशव बोहरा, नरेश पाण्डे, सोनु गुप्ता र मनिष कुँवर लगायतको अगुवाइमा भएको उक्त विरोध प्रदर्शनका क्रममा युवाहरूले स्थानीय सरकारको चरम लापरवाहीका कारण जनताले सास्ती भोग्नुपरेको आरोप लगाएका छन्। हेर्दा सामान्य लागे पनि नागरिकको प्रत्यक्ष सुरक्षा र दैनिक जीवनसँग जोडिएको विषयमा स्थानीय सरकार र वडा कार्यालयले देखाएको उदासीनता नागरिक अधिकार माथिको उपेक्षा भएको उनीहरूको भनाइ छ।

जिल्लाकै एक प्रमुख व्यापारिक केन्द्रका रूपमा विकास भइरहेको बेलौरी बजारको मुख्य सडकमै लामो समयसम्म अन्धकार रहनुले स्थानीय प्रशासनको कार्यशैलीमाथि गम्भीर प्रश्न खडा गरेको छ। एक महिनासम्म धैर्यतापूर्वक पर्खिंदा पनि पालिकाले मर्मतको कुनै प्रक्रिया अघि नबढाएपछि बाध्य भएर सांकेतिक रूपमा सडकका पोलहरूमा मैनबत्ती बाल्नुपरेको आन्दोलनकारी युवाहरूले स्पष्ट पारेका छन्। जनसरोकारका यस्ता संवेदनशील विषयहरूमा जनप्रतिनिधिहरू तत्काल जिम्मेवार नभए आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रमहरू अघि बढाउने चेतावनी समेत युवा समूहले दिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ