मीरा श्रेष्ठ, मंसीर ९
बेलौरी–विगत लामो समयदेखि बेलौरीको हुलाकी सडकमार्ग व्यवस्थापनमा स्थानीय सरकारले चासो नदिएको भन्दै स्थानीयले आज तौला राना चोकमा यातायातलाई अवरुद्ध गरि आक्रोश व्यक्त गरेका छन् । वर्खामा हिलाम्मे बाटो र गर्मीमा धुलाम्मे भएको, बालबच्चा, बिरामी र सामान्य मानिसलाई पनि आवतजावतमा कठिन भई जनजीवन प्रभावित हुन पुगेकोले यसो गरिएको स्थानीय पुनम श्रेष्ठले बताइन् ।

‟ढल व्यवस्थापनका लागि भनेर यथावत् पिच रहेको सडकलाई भत्काईदिए । ल त्यो त ठिक छ, हाम्रो लागि गर्नुभयो । तर सडक निर्माण त समयमा गर्नुपर्यो । नगरपालिका नजिकै रहेको अरु सडकखण्ड बनाउने, हाम्रो यता बेवास्ता गर्ने ?”अर्का स्थानीय मोहन देव भट्टको आक्रोश थियो ।

बेलौरीको कृष्ण मन्दिरदेखि तौला रानाचोकसम्म यातायात अवरुद्ध गरेको बेलौरी रिछाहा, बीचटोलका भलमन्सा खडक चौधरीले थप जानकारी दिदै भने, ‟सडक बनाउने, भत्काउने गरेको लगभग ९ वर्ष भईसक्यो । हामीले बेलाबेलामा दबाबमूलक कार्यक्रम पनि गरेका हौँ । ढल निकासको नाममा भुराकोटा जाने बाटोलाई नै हेर्ने हो भने बेलौरी मुख्यचोकनेर अरु सडक आरसीसी, पिच भईसक्दा अन्त बाटो सम्याउने कामसम्म पनि भएको छैन । त्यसैले आज भने हामीले अति नै असह्य अवस्था भएर बाटो बन्द गरेका हौँ ।”

विरोध कार्यक्रमको केहि समयपछि स्थानीय सरकारको प्रतिनिधि स्वरुप आईपुगेका बेलौरी नगरपालिका वडा नं ६ का अध्यक्ष भोजराज चौधरीले कार्यक्रमकै बीच सडकको ठेक्कापट्टा लिएका ठेकेदारलाई फोन गरी सडक निर्माण कहिले बाट सुरु हुन्छ भन्दा पर्सिबाट सुरु गर्ने वचन दिएको भन्दै स्थानीयलाई आश्वस्त गर्ने प्रयास गरेका थिए । यद्यपि स्थानीयले ठेकेदारसँगको कुराकानी र प्रतिबद्धता सुनाउनको लागि अध्यक्षलाई पुनः फोन गर्न लगाए ।

स्थानीयले आज स्पष्ट जवाफ चाहिन्छ भनेर अध्यक्षसामु अडान लिएपछि अन्ततः उनले आजको दिनबाट बाटो निर्माणको काम आफ्नो जिम्मेवारी भएको प्रतिबद्धता व्यक्त गरे । आज सडकमा पानी राखिने र मंगलबारबाट सडक निर्माण सुरु गरिने समेत उनले स्थानीयलाई विश्वस्त गरे । यद्यपि अध्यक्षको प्रतिबद्धता कार्यान्वयन हुन नसके दोस्रो चरणको विरोध उग्र हुने स्थानीयले चेतावनी दिएका छन् ।







