धनगढी, कैलाली।
आन्तरिक राजस्व कार्यालय धनगढी र सेती महाकाली ट्रक यातायात व्यवसायी संघको संयुक्त आयोजनामा यातायात तथा ढुवानी व्यवसायीहरूलाई लक्षित गर्दै करसम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। आज असोज ४ गते आइतबारका दिन संघको प्रधान कार्यालयको सभाहल धनगढीमा आयोजित उक्त कार्यक्रममा ढुवानी तथा यातायात क्षेत्रमा फर्म दर्ता गरी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा आन्तरिक राजस्व कार्यालय धनगढीका प्रमुख कर अधिकृत भीम प्रसाद काफ्ले प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने कार्यालयका कर अधिकृत विष्णु बहादुर रावतले व्यवसायीहरूलाई करसम्बन्धी प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षक रावतले व्यवसायीहरूलाई कर दर्ता, नियमित कर दाखिला, मूल्य अभिवृद्धि कर तथा ढुवानी व्यवसायमा लाग्ने विभिन्न करसम्बन्धी कानुनी प्रावधान र प्रक्रियाबारे विस्तृत जानकारी गराउनुभएको थियो। प्रशिक्षणका क्रममा सहभागी व्यवसायीहरूले व्यवसाय सञ्चालनका बेला भोग्नुपरेका व्यावहारिक कठिनाइ तथा जिज्ञासाहरू राखेका थिए, जसको राजस्व कार्यालयका प्रतिनिधिहरूले स्पष्ट पार्नुभएको थियो।

सेती महाकाली ट्रक यातायात व्यवसायी संघका अध्यक्ष मोहन साउदको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बोल्दै अध्यक्ष साउदले राज्यलाई तिर्नुपर्ने कर समयमै र पारदर्शी रूपमा तिर्न व्यवसायीहरू सदैव तत्पर रहेको उल्लेख गर्नुभयो। उहाँले कर प्रशासनले पनि व्यवसायीमैत्री र सरल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै यस्ता प्रशिक्षणले करसम्बन्धी कानूनी ज्ञान अभिवृद्धि गर्न र कर कानुनको सहजरूपमा पालना गर्न ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

करको दायरा विस्तार गर्न र करदाता शिक्षालाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित यसप्रकारका अन्तरक्रियात्मक कार्यक्रमले करदाता र कर प्रशासनबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै समग्र राजस्व प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ।





