अन्तराष्ट्रिय महिला दिवस : १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियानको सुरुवात बेलौरी नगरपालिकामा

मीरा श्रेष्ठ, मंसीर १०
बेलौरी–राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा महिला हिंसा अन्त्य दिवसको १६ दिने अभियान सुरु भएसँगै कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका अन्तर्गत महिला तथा बालबालिका शाखाले आज अभियानको शुभारम्भ गरेको छ । ‟हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यवद्धता” भन्ने नाराको साथ सुरु भएको अभियानको पहिलो दिन आज बेलौरी नगरपालिकाको कार्यालय भवनमा सरोकारवालाहरु एकत्रित भई हिंसा विरुद्धका विभिन्न नाराका साथ बजार परिक्रमा गरिएको थियो ।

महिला तथा बालबालिका शाखाका प्रमुख विमला बजगाईले सञ्चालन गरेको उक्त कार्यक्रममा सोही शाखाबाट न्यायिक समितीका उजुरी प्रशासक समेत रहेका गणेश कुमारी थारुको सभाध्यक्षता थियो । त्यसैगरी प्रमुख अतिथिमा बेलौरी नगरपालिका उप–प्रमुख जोगराम चौधरी, विशिष्ट अतिथिमा बेलौरी नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थी र अतिथिहरुमा बेलौरी नगरपालिकाका निवर्तमान उप–प्रमुख चित्रा कुमारी चौधरी, सशस्त्र प्रहरी बल बेलौरी प्रमुख सन्दिप अर्याल, ईलाका प्रहरी कार्यालयका प्रमुख भाष्कर चन्द लगायत वडाबाट जनप्रतिनिधि, कार्यपालिका सदस्य, विद्यालय प्रतिनिधि, मानव अधिकारवादी समुह, बेलौरी युवा सञ्जाल, नगरस्तरीय महिला सञ्जाल, आमा समुह, महिला समुह प्रतिनिधि, भलमन्सा लगायत अभियानका साझेदार निकायहरुको उपस्थिती थियो ।

 

कार्यक्रममा महिला शाखा प्रमुख विमला बजगाईले डोमिनिकन रिपलब्लिकमा तत्कालीन समयमा शासकको तानाशाही तन्त्र विरुद्ध आवाज उठाएकोमा राष्ट्रद्रोही भनि हत्या गरिएका ३ जना महिला अधिकारकर्मी मिराबल दिदीबहिनीको न्यायका लागि आवाज उठेसँगै अन्र्तराष्ट्रिय महिला दिवसको सुरुवात भएको प्रकाश गरिन् । सँगै, नेपालको तर्फबाट योगमाया न्यौपानेको योगदानलाई पनि बिर्सन नहुने उनको जिकिर थियो ।


मानव अधिकारका लागि एकल महिला समुहबाट चित्रकला चापागाईले हालको समयमा महिला हिंसाले परिवर्तित रुप लिएको भन्दै गर्भावस्थामा भ्रुण परीक्षण गर्ने प्रवृत्तिको घोर भर्त्सना गरिन् । त्यसैगरी मानव अधिकार संरक्षक समुहका  सह-संयोजक पदम शाहले देशमा लोकतान्त्रिक गणतन्त्र आएसँगै संविधानले महत्वका साथ राखेको समावेशी अवधारणाले निजामति सेवामा बढ्दो महिला दिदीबहिनीको सङ्ख्या प्रशंसनीय रहेको व्यक्त गरे । त्यस्तै महाकाली प्रादेशिक अस्पतालका केस म्यानेजर पुनम बस्नेतले हिंसामा परेका महिला दिदिबहिनीको सुरक्षाको लागि नेपाल सरकारले नै एकद्धार संकट व्यवस्थापन कार्यक्रम लागु गरेको जानकारी गराउदै हिंसा विरुद्ध बोल्न र हिंसामा परेका महिलादिदीबहिनीलाई कार्यक्रममा जोडिनको लागि अनुरोध गरिन् ।


इलाका प्रहरी कार्यालय बेलाैरीका प्रमुख भाष्कर चन्दले घरबाटै हिंसाको सुरुवात हुने हुँदा आमाबुबाले आफ्ना बालबालिकालाई सानैमा सहि संस्कार, अनुशासन सिकाउने पर्ने कुरामा जोड दिए । पछिल्लो समयमा आउने महिला हिंसाका मुद्दाहरु भयलाग्दा भएका कारण हेर्दा, सुन्दा सामान्य लाग्ने कुराहरुमा शुन्य सहनशीलताको नीति अपनाउनसमेत उनले सुझाव दिए ।


त्यसैगरी बेलौरी नगरपालिका उप–प्रमुख जोगराम चौधरीले प्रत्येक महिला तथा बालबालिकालाई आफ्नो घरपरिवारको सदस्य मानेर एकअर्काप्रति सकरात्मक दृष्टिकोण राख्न सके लैङ्गिक हिंसा अन्त्य गर्न सकिने जिकिर गरे । समाजले असल बुहारीको कल्पना गरेसँगै आफ्ना छोरालाई पनि असल ज्वाई बनाउनमा लागी पर्नुपर्नेसमेत उनको जोड थियो । सँगै समाजमा हुने गरेका हिंसाको अन्त्यका लागि प्रत्येक वडाबासीलाई अभियानमा जोडिनको लागि उनको अनुरोध थियो ।


कार्यक्रमबारे थप जानकारी दिदै बेलौरी नगरपालिकामा लैङ्गिक हिंसा निवारण कोष स्थापना भएको र आवश्यकतामा रहेका दिदीबहिनीलाई आपतकालीन आश्रयस्थल दिईने गरेको महिला शाखा प्रमुख बिमला बजगाईले बताईन् । साथै, हिंसामा परेका बालबालिकाको लागि पनि यसैवर्ष बाट बालकोष स्थापन गरिएको समेत उनले जानकारी दिईन् ।


आजबाट सुरु गरिएको यो अभियान भोलिबाट क्रमश : वडा १० देखि १ सम्म आयोजना गरेपश्चात् मंसीरको २५ गते पुनः नगरपालिकाको सभाहलमा कार्यक्रमको समीक्षा गरी समापन गरिने बेलौरी प्रमुख प्रशासकीय अधिकृत तारादत्त अवस्थीले जानकारी दिए ।

फोटो फिचर :

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ