पुनर्वास, १७ मंसिर।
कञ्चनपुरको पुनर्वासमा सम्पन्न भएको रामलीला महोत्सवको आयव्यय एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।पुनर्वास नगरपालिका–३ स्थित राधाकृष्ण मन्दिर समितिद्वारा आयोजित उक्त महोत्सवको आयव्यय मन्दिरकै प्राङ्गणमा शनिबार सार्वजनिक गरिएको हो।
मन्दिर समितिका अध्यक्ष विष्णुप्रसाद अधिकारीको सभाध्यक्षता र नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका वरिष्ठ उपाध्यक्ष रञ्जित लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आर्थिक प्रतिवेदन समितिका वरिष्ठ कोषाध्यक्ष कृष्णकान्त पौडेलले प्रस्तुत गरेका थिए।
आम्दानीतर्फ ६ लाख ९ हजार ९ सय ७३ रुपैयाँ र खर्चतर्फ २ लाख ८६ हजार २ सय ११ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।जम्मा बचत ३ लाख २३ हजार ७ सय ६२ रुपैयाँ रहेको छ भने ४५ हजार ७ सय ६ रुपैयाँ कबुल गरिएको तर अझै उठ्न बाँकी रहेको प्रतिवेदनमा उल्लेख छ।
मन्दिरकै प्राङ्गणमा हनुमान मूर्ति प्रतिस्थापनका लागि कार्तिक २२ गतेदेखि मंसिर ३ गतेसम्म आयोजना गरिएको उक्त रामलीला महोत्सवले समाजमा नैतिकता, भाइचारा, र सौहार्दता सिर्जना गरेको उपस्थित अधिकतर वक्ताहरूले बताएका छन्।”जुन उद्देश्यले प्रेरित भएका थियौं, त्यो उद्देश्य पूरा हुनुमा सम्पूर्ण धर्ममार्गी र दाताहरूको शुभाशय नै रहेको छ,” युवा समाजसेवी गौरव शर्माले भने।
देश र समाजमा आर्थिक मन्दीको विकराल अवस्थामा पनि समितिले सोचभन्दा बढी सफलता हात पारेको स्थानीय बुद्धिजीवी खेमराज लामिछानेले बताए।”यो समितिलाई त २१ तोपकै सलामी दिनुपर्छ,” उनले थपे।
प्रमुख अतिथिको आसनबाट बोल्दै लामाले समाजमा नैतिकतालाई बढावा दिन यस्ता धार्मिक क्रियाकलापलाई अभियानकै रूपमा प्रयोग गर्नुपर्ने बताए।”धार्मिक कृतिहरू उजागर गर्न समय कुरेर बस्नुको सट्टा यस्ता धार्मिक कृतिहरूलाई दिनप्रतिदिन उजागर गर्नु श्रेयष्कर हुन्छ,” उनले भने।”स्थापना हुन लागेको हनुमानको मूर्तिलाई धार्मिकताका साथसाथै पर्यटन प्रवर्द्धनको दृष्टिकोणले पनि हेर्नुपर्छ,” उनले थपे।
रामलीला मूल आयोजक समितिका सदस्य प्रकाश गैरेको स्वागत मन्तव्यबाट आरम्भ भएको कार्यक्रममा सूत्रधार समितिका महासचिव आनन्द सुवेदी रहेका थिए।
सोही भेलाले मूर्ति स्थापनाका लागि शनिबार नै ५/५ सदस्यीय निर्माण तथा अनुगमन समिति सर्वसम्मत चयन गरेको छ।निर्माण समितिका अध्यक्षमा कृष्णराज गिरी, सचिवमा प्रकाश गैरे, कोषाध्यक्षमा राजेन्द्र ढकाल, र सदस्यहरूमा यमप्रसाद जैशी र मिना खतिवडा रहेका छन्।अनुगमन समिति संयोजकमा विष्णुप्रसाद अधिकारी र सदस्यहरूमा आनन्द सुवेदी, हेमबहादुर थापा, कृष्णकान्त पौडेल, र शोभाखर भण्डारी रहेका छन्।
निर्माण कार्यका लागि प्रक्रिया सुचारु भइसकेको निर्माण समितिले जनाएको छ।निर्माण कार्यलाई अझ व्यापक र विराट रूप दिन भागेश्वर सुगर मिलले सघाउने जानकारी अनुगमन समितिका सदस्य आनन्द सुवेदीले दिए।





