केशव भट्ट, लालझाडी, १९ मंसिर। कंचनपुरको लालझाडी गाउँपालिका वडा नम्बर २ मा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले हात्तीले गरेको क्षतिको अनुगमन गरेका छन्।

बुधबार, हात्ती प्रभावित क्षेत्रका जनताको गुनासो सुन्न र हात्तीले गरेको क्षतिबारे जानकारी लिन संविधानसभा सदस्य समेत रहेका बिष्ट, डिभिजन वन कार्यालय कंचनपुरका प्रतिनिधि, नेपाल प्रहरी लगायतको टोली लालझाडी पुगेको हो।वर्षौदेखि कंचनपुरको दक्षिणी क्षेत्रवासीले हात्तीका कारण समस्या भोग्दै आएका छन्। लालझाडीमा हात्तीले अन्नबाली नष्ट गर्नुका साथै घर भत्काएको छ। हात्तीले खेतबारीमा गरेको क्षतिका कारण जनता थप आर्थिक संकटमा परेका छन्।

क्षेत्रका जनताले प्रदेश सभा सदस्य बिष्टसँग हात्ती नियन्त्रणका लागि तत्काल प्रभावकारी कदम चाल्न र उनीहरूले उचित क्षतिपूर्ति पाउन सुनिश्चित गर्न आग्रह गरेका छन्। सांसद बिष्टले आफूले स्थानीय सरकार, प्रदेश सरकार तथा वन कार्यालयसँग समन्वय गरी हात्ती नियन्त्रण र पीडितलाई क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिवद्धता जनाएका छन्।







