कञ्चनपुरको बेलौरीबाट पशु क्वारेन्टाइन चेकपोष्ट कैलाली सार्ने भित्री गृहकार्य हुदै

फाईल तस्विरः माधव पाैडेल/बेलौरी अनलाईन

कञ्चनपुरको दक्षिणी सीमावर्ती क्षेत्र बेलौरीमा विगत लामो समयदेखि सञ्चालित पशु क्वारेन्टाइन चेकपोष्टलाई कैलालीको अत्तरियामा स्थानान्तरण गर्ने तयारी भइरहेको चर्चाले स्थानीय स्तरमा गम्भीर चिन्ता पैदा गरेको छ। औपचारिक रूपमा पशु र पशुजन्य वस्तुहरूको वैधानिक आयात निर्यात नभएको तथा जनशक्ति र बजेट अभावको कारण देखाउँदै माथिल्लो तहबाटै यस चेकपोष्टलाई सार्ने विषयमा आन्तरिक गृहकार्य भइरहेको बुझिएको छ।

नेपाल सरकारले पशु क्वारेन्टाइन सेवालाई सुदृढ बनाउन आर्थिक वर्ष २०३९/४० मा देशभर स्थापना गरेका २४ वटा चेकपोष्टमध्ये बेलौरी पनि एक हो। कृषि, वन तथा पर्यावरण मन्त्रालयको पशु सेवा विभाग अन्तर्गत पर्ने यो कार्यालय हाल गड्डाचौकीस्थित मुख्य पशु क्वारेन्टाइन कार्यालयको मातहतमा सञ्चालित छ। पोखरामा थप एक कार्यालय स्थापना भएसँगै हाल देशभर ९ वटा मुख्य कार्यालय र ३२ वटा चेकपोष्ट सञ्चालनमा छन्। सुदूरपश्चिम प्रदेशको हकमा गड्डाचौकीमा मुख्य कार्यालय रहेको छ भने यसकै मातहतमा दार्चुला, धनगढी र बेलौरीलगायतका संवेदनशील सीमा विन्दुमा चेकपोष्टहरू सञ्चालनमा रहेका छन्।

स्रोतबाट प्राप्त जानकारीअनुसार बेलौरी नाकाबाट पशु तथा पशुजन्य सामग्रीको वैधानिक आयात निर्यात प्रायः शून्य छ। भारततर्फबाट सामान ल्याउन अनिवार्य रूपमा आवश्यक पर्ने भारतीय क्वारेन्टाइनको प्रमाणपत्र उपलब्ध नहुँदा वैधानिक व्यापार हुन नसकेको र राजस्व संकलन नभएको प्राविधिक कारण देखाउँदै कार्यालयलाई अत्तरिया सार्ने नीतिगत तयारी (ओएनएम पास) भइरहेको स्रोतको दाबी छ। यस विषयमा पशु क्वारेन्टाइन कार्यालय कञ्चनपुरका प्रमुख डा. अरुण खनालसँग सम्पर्क गर्दा उहाँले कार्यालय स्थानान्तरणसम्बन्धी कुनै औपचारिक पत्र प्राप्त नभइसकेको भए पनि आन्तरिक रूपमा यस्तो चर्चा आफूले पनि सुनेको बताउनुभयो।

राजस्व संकलनलाई मात्र मुख्य आधार मानेर जैविक सुरक्षाजस्तो अत्यन्तै संवेदनशील विषयमा प्रत्यक्ष असर पर्ने गरी बेलौरीबाट चेकपोष्ट सार्ने चर्चाका विषयमा सम्बन्धित सबै सरोकारवालाहरू, सम्बद्ध निकाय र नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरूको यसतर्फ समयमै ध्यानाकर्षण हुन आवश्यक देखिन्छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ