स्वर्गीय मनिष कुँवरको जन्मदिनमा अनाथालय र वृद्धाश्रममा सहयोग

महेन्द्रनगर।

अछाम जिल्ला घर भई हाल कञ्चनपुरको महेन्द्रनगरमा बसोबास गर्दै आएका तथा सुदूरपश्चिम विश्वविद्यालयको कानुन संकायमा आठौँ सेमेस्टरमा अध्ययनरत स्वर्गीय मनिष कुँवरको जन्मदिनको अवसरमा उनका साथीहरूले अनाथालय र वृद्धाश्रममा खाद्यान्न तथा आवश्यक सामग्री वितरण गरेका छन्।

मनिष कुँवरको २०८३ साल वैशाख ८ गते महाकाली नदीमा पौडी खेल्ने क्रममा निधन भएको थियो। परिवार र साथीहरूका अनुसार उनी सानैदेखि समाजसेवा तथा मानवीय कार्यप्रति रुचि राख्थे र भविष्यमा सामाजिक क्षेत्रमा योगदान गर्ने इच्छा व्यक्त गर्ने गर्थे।

उही भावनालाई सम्मान गर्दै साथीहरूले स्वेच्छिक रूपमा आर्थिक सहयोग संकलन गरी महेन्द्रनगर बसपार्क नजिक रहेको अनाथालय तथा बाल आश्रम र रौटेलास्थित वृद्धाश्रममा चामल, दाल, खाने तेल, साबुनलगायतका आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्।

साथीहरूका अनुसार जन्मदिनलाई औपचारिक रूपमा मनाउनुको सट्टा मनिषको स्मृतिमा सामाजिक कार्य गर्ने उद्देश्यले यो अभियान सञ्चालन गरिएको हो। आगामी दिनमा पनि यस्ता मानवीय गतिविधिलाई निरन्तरता दिने उनीहरूको प्रतिबद्धता रहेको छ।

यस कार्यक्रमले स्वर्गीय मनिष कुँवरप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै समाजमा सहयोग, सहकार्य र मानवीय सेवाको सन्देश प्रवाह गरेको सहभागीहरूले बताएका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ