बेलौरीमा शिक्षक सरुवा विवाद: आवेदन आह्वानको सूचनामा ‘सिन्डिकेट’ लगाइएको आरोप

कञ्चन आवाज / बेलौरी (कञ्चनपुर)। बेलौरी नगरपालिकाद्वारा जारी “विद्यालय समायोजन, शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि, २०८३” अनुसार सुरु गरिएको तहगत स्थायी शिक्षक सरुवा प्रक्रिया विवादित बनेको छ। स्वीकृत कार्यविधिमा ३ वर्ष पुगेका सबै स्थायी शिक्षकहरूलाई ज्येष्ठताका आधारमा चक्रिय प्रणाली (रोटेसन) बाट सरुवा गर्ने प्रावधान रहे तापनि नगरपालिकाले जारी गरेको निवेदन आह्वानको सूचना र तालिकामा भने निश्चित विद्यालय र विषयमा मात्र दायरा सीमित गरी ‘सिन्डिकेट’ खडा गरिएको भन्दै स्थानीय शिक्षकहरूले असन्तुष्टी जनाएका हुन।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मिति २०८३ साउन ५ गते सूचना जारी गर्दै तहगत स्थायी शिक्षकहरूलाई ७ दिनभित्र आफूले जान चाहेको विद्यालय प्राथमिकता क्रमअनुसार रोजेर आवेदन दिन आह्वान गरेको छ। तर, सूचनाको पुनश्च तथा संलग्न अनुसूची तालिका अनुसार सीमित विद्यालयका निश्चित विषयलाई मात्र आवेदनका लागि खुला गरिएपछि विवाद सतहमा आएको हो।

महाकाली माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र सिंह भण्डारीका अनुसार कार्यविधिको दफा ६, ८ र ११ (संशोधन सहित) मा लगातार ३ वर्ष एकै विद्यालयमा सेवा अवधि पूरा गरेका स्थायी शिक्षकहरूलाई सरुवा गर्न सकिने र शिक्षकको ज्येष्ठताका आधारमा रोजेको विद्यालयमा पठाइने स्पष्ट व्यवस्था छ। तर, साउन ५ गते प्रकाशित सूचना र तालिकामा अमुक विद्यालयमा निश्चित विषयका शिक्षकले मात्र आवेदन दिन पाउने र अन्य विद्यालयका हकमा आवेदन नै दिन नपाउने गरी घेराबन्दी गरिएको शिक्षकहरूको दाबी छ।

“कार्यविधि र शिक्षा नियमावलीको १० औँ संशोधन अनुसार ३ वर्ष पुगेका सबै स्थायी शिक्षकहरूलाई एकसाथ खुल्ला र पारदर्शी प्रक्रियाबाट सरुवा चक्रमा लैजानुपर्ने हो,” भण्डारीले भने, “तर नगरपालिकाले सूचना जारी गर्दा केही सीमित विद्यालयका मात्र सूची खुला गरेर अन्य ५ ६ वटा विद्यालयका प्रधानाध्यापक र शिक्षकहरूलाई आवेदन नै नदिनुपर्ने गरी सुरक्षित राखिदियो। यसले गर्दा कसैले आजीवन एउटै विद्यालयमा रहने र कसैले वर्षाौँसम्म दैनिक ३० किलोमिटरसम्मको दुरी धाउनुपर्ने अन्यायपूर्ण स्थिति बनेको छ।”

भण्डारीका अनुसार शिक्षा नियमावलीको १० औँ संशोधनले सरुवा भएको ३ वर्षसम्म अन्यत्र सहमति दिन पालिका बाध्य नहुने र प्रधानाध्यापक चयनमा सोही विद्यालयको तहगत स्थायी शिक्षकलाई पहिलो प्राथमिकता दिने व्यवस्था गरेको छ। अहिले निश्चित ५ वटा विद्यालयका शिक्षकलाई सरुवा नगरी उहीँ राखिनुले भोलि उनीहरू नै स्वतः प्रधानाध्यापक बन्ने बाटो सुरक्षित गरिएको र यसले अन्य ज्येष्ठ शिक्षकहरूको अधिकार खोसेको शिक्षकहरूको आरोप छ। “यस कदमले शिक्षकहरूमाथि चरम राजनीतिकरण बढाएको छ ” शिक्षकहरूको दाबी छ।

यस कदमबाट नेपालको संविधानले प्रदान गरेको समानताको हक, सम्मानपूर्वक बाँच्न पाउने हक र प्रचलित शिक्षा ऐन-नियमको मर्म मिचिएको भन्दै नेपाल शिक्षक महासङ्घ बेलौरीका नगर अध्यक्ष प्रेमप्रसाद अधिकारीसहित असन्तुष्ट शिक्षकहरूले नगरपालिकाको शिक्षा शाखामा पुगेर ध्यानाकर्षण गराएका छन्।

शिक्षकहरूको यो असन्तुष्टि र आन्दोलित कदमबारे कञ्चन आवाजले बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज जोशीसँग सम्पर्क गर्दा उनले विषयलाई गम्भीरताका साथ लिइएको बताए।

“शिक्षा क्षेत्रको दरबन्दी मिलान र व्यवस्थापन आफैँमा जटिल विषय भएकाले ५-६ जनाको कार्यदल निरन्तर काममा लागिरहेको छ,” प्रमुख प्रशासकीय अधिकृत जोशीले भने, “शिक्षकहरूबाट समानता र कार्यविधि पालनाको विषय उठेको छ भने यो गम्भीर हो। यसको सत्यतथ्य के हो, हामी कार्यदल र शिक्षा शाखासँग बुझेर आवश्यक कदम चाल्नेछौँ।”

यसै बिच नगरपालिकाले निकै लामो समय पछि विद्यालय निरीक्षक पाएको छ। आजै अम्बा दत्त भट्टले बेलौरी नगरपालिकामा विनिको कार्यभार सम्हालेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ