कञ्चनपुर।
शुक्लफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र च्याउ खोज्न जाने क्रममा बाटो बिराएर बेपत्ता भएका कञ्चनपुरका १७ जना सर्वसाधारण २४ घण्टापछि सकुशल सम्पर्कमा आएका छन्। नेपाली सेना, नेपाल प्रहरी, स्थानीय बासिन्दा तथा जिल्ला सुरक्षा समितिको संयुक्त टोलीले सञ्चालन गरेको खोजी अभियानपछि उनीहरूलाई सोमबार फेला पारिएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार बिहान ११ बजेको समयमा भीमदत्त नगरपालिका वडा नम्बर १९ बागफाँटा दशरथ टोलका १४ जना महिलाहरू निकुञ्जभित्र च्याउ खोज्न गएका थिए। साँझ अबेरसम्म पनि उनीहरू घर नफर्किएपछि सुरक्षा निकाय र स्थानीयवासीको टोली खोजीकार्यमा खटिएको थियो। निरन्तरको खोजीपछि सोमबार दिउँसो करिब १ बजे उनीहरू सबैलाई जंगलभित्र सकुशल फेला पारिएको छ।
त्यसैगरी आइतबार दिउँसो १ बजे कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर २ चौवन्नी क्षेत्रबाट शुक्लाफाँटा जंगलमा च्याउ सङ्कलन गर्न गएका अन्य तीन जना महिला पनि बाटो भुलेर सम्पर्कविहीन भएका थिए। घटनावारे जानकारी पाउनासाथ खटिएको नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरूलाई सोमबार बिहान करिब १० बजे फेला पारेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतका अनुसार उद्धार गरिएका सबै नागरिकको स्वास्थ्य अवस्था सामान्य रहेको छ।





