कञ्चनपुरको बेलौरीमा सशस्त्र र नेपाल प्रहरीको संयुक्त टोलीद्वारा खैरो हेरोइनसहित दुई जना पक्राउ

बेलौरी, कञ्चनपुर।

नेपाल-भारत सीमावर्ती कञ्चनपुरको बेलौरीबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले १.५९ ग्राम खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

बेलौरी नगरपालिका वडा नम्बर १० स्थित सडकघाट नजिकैको सीमा क्षेत्रमा मंगलबार राति गस्तीमा खटिएको सुरक्षा टोलीले शंकास्पद अवस्थामा भारततर्फबाट नेपाल आउँदै गरेका उनीहरूलाई सवारी साधनसहित पक्राउ गरेको हो।

बिओपी पचुईका सशस्त्र प्रहरी नायब निरीक्षक गणेश बहादुर कामी र प्रहरी चौकी भुडाका प्रहरी सहायक निरीक्षक शिवराज भाटको कमाण्डमा खटिएको ८ जनाको संयुक्त गस्ती टोलीले राति करिब पौने ११ बजे सवारी साधन जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।

जाँचका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ धुर्सा बस्ने २४ वर्षीय राकेश रानाले प्रयोग गरेको म १ प ५१०५ नम्बरको मोटरसाइकल रोकेर तलासी लिँदा निजको पाइन्टको दायाँ गोजीमा लुकाई राखेको शुद्ध तौल १.५९ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ।

सोही घटनामा संलग्न भई सहयोग पुर्‍याएको आरोपमा बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने २९ वर्षीय बुद्ध राना र उनले प्रयोग गरेको म ३ प ६१८ नम्बरको मोटरसाइकललाई समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

पक्राउ परेका दुवै जनालाई बरामद लागुऔषध र मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि राति ११ बजे प्रहरी चौकी भुडामा बुझाइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ