बेलौरी, १८ पौष।कञ्चनपुरको बेलौरी नगरपालिकामा आयोजित तेस्रो पर्यटन महोत्सव तथा कृषि, औद्योगिक व्यापार मेला ०८१ भव्य रूपमा सम्पन्न भएको छ। ‘कृषि, पर्यटन, उद्योग र व्यापार: समृद्ध बेलौरीको आधार’ भन्ने नाराका साथ पुस ८ गतेदेखि सुरु भएको महोत्सव पुस १७ गते समापन भएको हो।
महोत्सवले कृषि, उद्योग, र पर्यटन क्षेत्रलाई जोड्दै स्थानीय उत्पादन र सेवाहरूलाई प्रवर्द्धन गर्न सफल भएको आयोजकले जनाएको छ। मेलामा स्थानीय किसान, व्यवसायी, र उद्योगीहरूले जैविक उत्पादन, हस्तकला सामग्री, र आधुनिक प्रविधिका वस्तुहरू प्रदर्शनीमा राखेका थिए। यसले स्थानीय व्यवसाय प्रवर्द्धनमा ठोस योगदान गरेको आयोजकले जनाएको छ।
महोत्सवमा स्थानिय र राष्ट्रिय कलाकारहरूको प्रस्तुति मुख्य आकर्षण रह्यो। प्रत्येक दिन सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको थियो, जसले स्थानीय संस्कृति र परम्परालाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उद्योग वाणिज्य संघका महासचिव गोविन्द प्रसाद सापकोटाको धारणा थियो। महोत्सवको उद्घाटन बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले गरेका थिए भने समापन उपप्रमुख जोगराम चौधरीले गरे। आयोजकका अनुसार महोत्सवले हजारौँ दर्शकलाई आकर्षित गर्दै व्यापक सहभागिता पाएको थियो।
संघका अध्यक्ष हिरा सिंह विष्टले महोत्सवको सफलताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै भने, “यो महोत्सवले स्थानीय उत्पादन र संस्कृतिलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आर्थिक समृद्धिमा योगदान पुर्याएको छ।” महोत्सवको सफलताका लागि योगदान दिने विभिन्न व्यक्तित्वहरूलाई सम्मान प्रदान गरिएको थियो। कार्यक्रमको सहजिरकण संघका महासचिव गोविन्द प्रसाद सापकोटाले गरेका थिए।












