आज तराई क्षेत्रमा होली मनाईदै

मीरा श्रेष्ठ,

बेलौरी, कञ्चनपुर
रंगहरुको पर्व, खुशी, उल्लास र वसन्त ऋतुको आगमनको प्रतिक होली पर्व आज नेपालको तराई क्षेत्रमा मनाईदैछ । विशेषत : नेपालमा प्रत्येक वर्ष पहाडी र तराई क्षेत्र गरि दुई दिन होली मनाईने चलन छ । फलस्वरुप, अघिल्लो दिन पहाडी क्षेत्रमा होली मनाईन्छ भने भोलिपल्ट तराई क्षेत्रमा मनाउने प्रचलन छ ।


यसअनुरुप विशेषत: होली भन्नेबितिकै तराई क्षेत्रमा फागु पूर्णिमाको दिन भव्य रुपमा हर्षोल्लासका साथ मनाईने अभ्यासको स्मरण गराउछ । र त्यसमा पनि अझ रानाथारु तथा मधेशी समुदायको होलीले विशेष परम्परागत आर्कषण बटुलेको देख्न सकिन्छ । यो समुदायमा विशेष बाजाहरु सहित एक एक झुण्ड बनाएर घरपरिवार, आफन्ती तथा समुदायमा गएर विशेष प्रकारको गीत तथा साँस्कृतिक नृत्य गरि एकआपसमा रंग लगाउने तथा अँगालो मारेर मित्रसम्बन्धि थप प्रगाढ बनाउने चलन छ ।


“संस्कृतिको जगेर्ना गर्दै होली पर्व मनाउदा हाम्रो बालबच्चाले पनि सिक्छन् र हामीलाई पनि मनोरञ्जन सँगै साथीभाई, आफन्तसँगको भेटघाटले खै कि हो यो दिन छुट्टै रमाईलो हुन्छ”, बताउछिन् कञ्चनपुरको बेलौरी नगरपालिकाका विमला चौधरी । सँगै पहाडी पुर्खाथलो भएतापनि जन्म र कर्मथलो तराईलाई मान्दै आएका कृष्ण भट्ट पनि तराईको विशेष प्रकारको होलीले मन दंग हुने बताउछन् ।


यसदिन तराई क्षेत्रबासी सबैले एकअर्को समुदायसँग मिलेर होली मनाउने गर्दछन् ।


होली सम्बन्धि विभिन्न किंवदन्ति रहेतापनि विशेष महत्व दिईएको कथाहरुमा आगोले भष्म नहुने वरदान पाएकि राक्षसनी होलीकाले आफ्नो दाई राक्षस हिरण्यकश्यपको आदेश अनुसार भदा प्रह्लादलाई जलाउन खोज्दा प्रह्लादको भगवान प्रतिको शुद्ध भक्तिको कारण ठिक उल्टो भई होलिका आफै जलेको घटनाबाट प्रेरित भई होली मनाउने प्रथा चलेको बताईन्छ ।


त्यसैगरी अर्को प्रचलित किंवदन्ति अनुसार भगवान विष्णु तथा देवि लक्ष्मी अर्थात् लक्ष्मीनारायणको युगल जोडी द्धापरयुगमा राधाकृष्णको अवतार लिई धर्तीमा मानवजगतलाई प्रेम, धैर्य र स्नेहको पाठ सिकाउन भनि आएको कथालाई समेत प्रतिविम्वित गर्ने बताईन्छ ।


समष्टिगत रुपमा भन्नुपर्दा नयाँ ऊर्जाको सुरुवात स्वरुप सबैको प्रिय ऋतु वसन्त ऋतुको आगमन, असत्य माथि सत्यको विजय, प्रेम, मित्रता र भाईचाराको सम्बन्ध कायम गर्नुपर्ने तथा सु–सम्बन्धहरु थप सुमधुर बनाउनुपर्ने तथा कथनकदाचित् थोरै खलबलिएका सम्बन्धहरुमा पुन : प्रेम जगाउनुपर्ने सन्देश होलीले दिन्छ ।


ओम शान्ति परिवारले समेत पाँच विकारको रुपमा मानेको तत्वहरु : ‘काम, क्रोध, लोभ, अहंकार र मोह’ को त्याग गर्नुपर्ने सन्देश होलीबाट लिनपर्ने बताउछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ