मीरा श्रेष्ठ,
बेलौरी, कञ्चनपुर
रानाथारु भलमन्सा तथा पधना समितीद्धारा बेलौरी नगरपालिकाको आर्थिक सहयोगमा “आज सँस्कृति बचामैं ! कुरीति हटामैं !! निर्झल समाज बनामैं !!! नाराका साथ होरी मिलन और खख्डेहरा कार्यक्रम २०८१” को सुरुवात गरिएको छ ।

चैत्र ३ र ४ गते गरि दुई दिन सो कार्यक्रममा आज पहिलो दिन साँस्कृतिक झाँकि सहित बजार परिक्रमा गरिएको थियो ।

बेलौरी रानाथारु भलमन्सा तथा पधना समितिका अध्यक्ष सुरेश कुमार बडायकको सभाध्यक्षमा सुरु गरिएको सो कार्यक्रममा पुर्व खानेपानी मन्त्रि विना मगरको प्रमुख आतिथ्यता रहेको थियो ।

यसअघि वडाहरुमा आयोजना गरिएको होरी मिलन कार्यक्रम अहिले भने बेलौरी बजारको खुलामञ्चमा पालिकास्तरीय कार्यक्रम गरि समापन गरिने तर्खरमा रहेको आयोजकको भनाई छ ।

विशिष्ट अतिथिको रुपमा बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरीले बेलौरी नगरपालिकाद्धारा यस किसिमका कार्यक्रम आयोजनाका लागि सहयोग गर्नुको अर्थ आदिवासी जनजाती रानाथारु समुदायको पहिचान, संस्कृतिको संवद्र्धन तथा संरक्षण गरि समुदायको एकता तथा अन्तर समुदायबीच भाईचारा कायम गर्नपर्ने सन्देश दिन खोजिएको जिकिर गरे । “वर्षौं देखि थिचोमिचोमा रहेको रानाथारु समाजले अब भने संविधानले व्यवस्था गरेअनुसार आफ्नो हकअधिकारको लागि ऐक्यबद्ध ढंगले आवाज उठाउनपर्छ”, उनको भनाई थियो ।

त्यस्तै प्रमुख अतिथि पूर्व खानेपानी मन्त्रि विना मगरले होरी मिलन कार्यक्रमको शुभकामना व्यक्त गर्दै रानाथारु समाजले आफ्नो हकअधिकारको लागि आवाज उठाउन सकेको क्षमताप्रति गर्व महशुश गरिनुपर्ने बताईन् । “आजको कार्यक्रमले समाजमा अझ बढि एकताको भाव बोकेर आएको छ, सँगै आफ्नो समुदायको हकअधिकारको चेतना उजागर गरेको छ र अझ बढि आफ्नो कला, सँस्कृति र परम्परा तथा भेषभुषा प्रति मायामोह जागृत गरेको छ”, उनले थपिन् ।

कार्यक्रममा विभिन्न वडा बाट साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै चर्चित गायिका लक्ष्मी राना तथा मोडेल मनिषा रानाको समेत उपस्थिती थियो ।

भोलिको भोलिको समापन कार्यक्रममा भने संविधानसभा सदस्य माननीय दिवान सिंह विष्ट प्रमुख अतिथिमा रहने र सीता राना तथा मोडेल मनिषा रानाको प्रस्तुति तथा छिमेकि भारतीय कलाकारहरुको प्रस्तुती समेत रहने आयोजकले जानकारी दिएको छ ।






