काठमाडौ— प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई यथार्थपरक भन्दै पूर्ण समर्थन जनाएका छन्। बैशाख २३ गतेको संसद बैठकमा बोल्दै उनले अझैसम्म पनि पूर्णरूपमा सम्पन्न नभएको हुलाकी सडक आयोजना बजेटमा प्राथमिकतामा पर्नु आवश्यक रहेको बताए।
“हुलाकी सडक अझै अधुरो छ,” तामाङले भने, “अब यस्ता आयोजनालाई समयमै सम्पन्न गर्नतर्फ ध्यान दिनुपर्छ।”
सांसद तामाङले युवा पुस्ता लागुऔषधको चपेटामा पर्दै गएको उल्लेख गर्दै नियन्त्रणका लागि तत्काल ठोस रणनीति ल्याउन आग्रह गरे।
प्रविधि सुधारको प्रसङ्ग उठाउँदै उनले भने, “अबको युग सूचना प्रविधिको हो। नीति तथा कार्यक्रममा ‘फेसलेस सेवा प्रणाली’ लागू गर्ने संकेत समयअनुकूल र स्वागतयोग्य छ।”
उनले अनावश्यक सरकारी संरचना मर्ज गर्ने र चालु खर्चमा मितव्ययिता अपनाउने जस्ता बुँदाहरूलाई पनि सकारात्मक रुपमा लिँदै नीति तथा कार्यक्रम समयअनुकूल रहेको जिकिर गरे ।





