मीरा श्रेष्ठ,
देशभर आज बिहान देखि साउन संक्रान्ति मनाइदैछ। प्रत्पयेक घररिवारले आफ्नो गक्ष अनुसार मिठा मसिना खाने तथा चेलीबेटीलाई माईत बोलाई परिकार खाने गरिन्छ।
आजकै दिन रात परेपछि लुतो फाल्ने परम्परासमेत रहिआएको छ। विशेषगरी गाउँघरमा अगुल्टा लिई घर घुम्ने तथा शरीर वरिपरि अगुल्टाले घुमाई लुतो जा भन्दै घरको धुरी कट्ने गरी अगुल्टा फ्याक्ने गरिन्छ। यस सन्दर्भमा बेलौरी बजार ४ कि नयाँ श्रेष्ठ बताउँछिन्, “पहिलापहिला अहिलेको जस्तो औषधि उपचार र डाक्टर त्यति साह्रै नहुने भएकोले होला अगुल्टा त्यसरी शरीर वरिपरि घुमाउँदा धुवाँले घाउ निको गर्ने हुन्थ्यो होला, त्यसैले त्यस्तो चलन बसेको होला।”
साउन महिनामा झरी पर्ने हुँदा विशेषगरी कृषकहरू हिलोमा काम गर्नुपर्ने हुँदा लुतो तथा घाउ खटेर आउने भएकाले नेपालका विभिन्न स्थानहरूमा लुतो फ्याँक्ने आ-आफ्नै अभ्यास रहेको छ। यो दिनमा नदी तथा किनारामा गएर शरीरमा पहेंलो तथा लेसिलो माटो दलेर नुहाए लुतो नआउने र आएको लुतो पनि जाने विश्वास गरिन्छ भने कतिपय स्थानमा भेन्टा तरकारीलाई दुलो पारेर चौबाटोमा फालेर नुहाए लुतो नलाग्ने विश्वास छ।
साथै, यस दिन खाना खाइवरी सुतेपछि भुतले जोख्न आउछ भन्ने मान्यता रहेकोले शरीरमा तेल लगाएर सुत्ने चलन समेत कतिपय स्थानमा रहेको छ। यसरी शरीरमा तेल लगाएपछि चिप्लो भएर भुतले उचाल्न सक्दैन भन्ने मान्यता रहेको सिन्धुपाल्चोककी चन्द्रकुमारी बताउछिन्।

साउन महिनाको सुरुवात भएसँगै भगवान शिवको आराधना अझ विशेष रुपमा सुरु हुने गर्दछ। भगवानको पालामा यही महिनामै समुन्द्र मन्थन भएको कथन समेत रहेको छ। पछिल्ला समयमा साउन महिनाको सुरुवात सँगै विशेषगरी नेपाली महिलाहरूले हरिया चुरा पोते र मेहन्दी लगाउने समेत गर्दछन्।





