फरक विशेषता बोकेको रानाथारु समुदायको तीज पर्व

मीरा श्रेष्ठ,
लालझाडी, कञ्चनपुर

 

श्रावण शुक्ल तृतीयाको दिन रानाथारु समुदायले मनाउने तीज पर्व आज मनाईएको छ ।

तीज भन्ने बितिकै विशेषगरी हिन्दू समुदायले विवाहित महिलाले आफ्नो श्रीमानको दीर्घायु र अविवाहितले शिव भगवान जस्तो वर प्राप्त होस् भन्ने कामनाले राख्ने पर्व भनेर बुझिन्छ । तर रानाथारु समुदायको तीज भने विशेष रुपले नौलो र फरक रहेको छ ।

रानाथारु समुदायका अविवाहित स्त्री तथा विवाहित महिलाले आफ्नो दाजुभाईको दीर्घायु, उन्नती र प्रगतीको कामना गरि हरेक वर्ष श्रावण शुक्ल तृतीयाको दिन व्रत बस्ने गर्दछन् । बिहान सबेरै उठि नुहाईधुवाई गर्ने र दिनभर दाजुभाईको लागि स्थानीय स्तरमा उपलब्ध खाद्यस्रोतद्धारा मीठामसिना परिकार बनाउने गर्छन् ।

तर हाल आएर भने यस दिनमा पकाईने परिकारहरुमा बजारीय खानाहरुको आगमन भईसकेको बताउछिन् लालझाडी गाउँपालिकाकी शर्मिला राना ।

उनी भन्छिन्, समयसँगै अहिले हामीले मनाउने तीजमा केहि फरक रुप पनि आईसकेको छ, हामीले लगाउने कपडा देखि लिएर तीज पर्व मनाउने तरिकामा धेरै परिवर्तन छ, तर फेरि हाम्रो पुस्ताले परम्पराको संरक्षण गर्नुपर्छ भनेर जातीय पोशाक र सामुदायिक रुपमा डोला खेल्ने कार्यक्रम पनि गर्छौँ ।

साँझको समयमा व्रत बसेका दिदिबहिनीहरु नदि किनारमा गई शिरुको घाँसलाई बेरेर अविवाहितले ५ मुठा र विवाहितले ७ मुठा गरि सबै मुठालाई एउटै ठाउँमा जम्मा गरेर झुड्कि बनाउने गर्दछन् ।

त्यसैमा पहिला जल तथा आफुहरुले दिनमा पकाएको सबै परिकार चढाईसकेपछि त्यो झुड्कि जराबाट निकाल्ने त कसैले केहि तलबाट चुडेर नदिमा लगि दाजुभाईको लामो आयु र उन्नति प्रगतिको कामना गर्दै पानीले छ्याप्दै बहाउने गर्दछन् ।

शर्मिला राना भन्छिन्, त्यसरी हामीले बहाएको झुड्कि जति टाढा सम्म गयो, त्यहि हाम्रो दाजुभाईको आयु लामो हुन्छ भन्ने विश्वास गरिन्छ ।

झुड्किलाई नदीमा बहाईसकेपछि उनीहरु नदि किनारमा बसी सामुहिक रुपमा घर घरबाट ल्याएका परिकारहरु एकआपसमा बाँडीचुडि खाएर व्रत तोड्ने गर्दछन् ।

 

यस दिन यस समुदायका विवाहित दिदिबहिनीहरु आफ्नो माईत गई दाजुभाई तथा आमाबुबाको साथमा बसी व्रत तोडिसकेपछि साँझ मीठामसिना खाने तथा नाचगान गरी रमाईलो गरेर तीज मनाउने गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ