महिला अधिकारको रक्षा गर्न संगठन बलियो हुनुपर्छ : पूर्व मन्त्री लक्ष्मी बिक

कञ्चन आवाज। दार्चुला, ४ भदौ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला समन्वय समिति दार्चुलाले जिल्ला भेला तथा विस्तारित बैठक सम्पन्न गरेको छ। यही भदौ १८, १९ र २० गते हुने राष्ट्रिय सम्मेलनलाई सफल बनाउन आवश्यक तयारीबारे सो भेलामा विस्तृत छलफल गरिएको थियो।

कार्यक्रमको प्रमुख अतिथिमा सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री लक्ष्मी बिक रहनुभएको थियो। उहाँ अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की जिल्ला इन्चार्ज तथा केन्द्रीय सचिवालय सदस्यसमेत हुनुहुन्छ।

भेलालाई सम्बोधन गर्दै नेतृ बिकले महिलाहरूको अधिकार केवल कागजमा सीमित नभई व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो। उहाँले भन्नुभयो,

“महिलाले प्राप्त गरेका अधिकार जोगाउन र थप अधिकार सुनिश्चित गर्न संगठनलाई टोल–टोल, गाउँ–गाउँसम्म बलियो बनाउनै पर्छ। राष्ट्रिय सम्मेलन महिलाको आवाजलाई नीति र बजेटसम्म पुर्‍याउने ऐतिहासिक अवसर हुनेछ।”

कार्यक्रमको अध्यक्षता जिल्ला अध्यक्ष गंगाकुमारी महत्तरा (गायत्री) रावलले गर्नुभएको थियो। उहाँले राजनीतिक कार्यक्रमसँगै यस्ता सांस्कृतिक जमघटले महिला नेतृबीचको आपसी सम्बन्ध र आत्मीयता थप सुदृढ हुने बताउनुभयो। बैठकपछि तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो, जसमा सहभागीहरूले दर खाई तीजका गीतमा सामूहिक नृत्य गर्दै खुसी साटासाट गरेका थिए।

भेलामा दार्चुलाका महिला जनप्रतिनिधि तथा खलङ्गा बहुमुखी क्याम्पसकी स्ववियु उप–सभापति पशुपति ठगुन्ना लगायतलाई सम्मान गरिएको थियो। दार्चुलाबाट सशक्त उपस्थिति सुनिश्चित गर्दै राष्ट्रिय सम्मेलनलाई ऐतिहासिक बनाउने कुरामा जोड  भेलाले दिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ