महेन्द्रनगर, असोज ७। कञ्चनपुरकी एक सक्रिय महिला पत्रकार ऐश्वर्या कुँवरलाई उनको पत्रकारिताको माध्यमबाट खेलकुद क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ। सुदूरपश्चिम प्रदेश सितोरियो कराँते संघले मंगलबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा उनलाई सम्मान गरेको हो।
महेन्द्रनगरमा सुरु भएको सुदूरपश्चिम प्रदेशस्तरीय खुला कराते प्रतियोगिताको उद्घाटन समारोहमा पत्रकार कुँवरलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि तथा सितोरियो कराते संघका केन्द्रीय अध्यक्ष दावा गुरुङले कुँवरलाई दोसल्ला ओढाएर सम्मान-पत्र प्रदान गर्नुभएको थियो।
संघले पत्रकार कुँवरले खेलकुद क्षेत्रका विविध विषयहरूलाई निरन्तर उठान गरी खेलाडीहरूको मनोबल बढाउन र खेलकुदको समग्र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको जनाएको छ।
विगत आठ वर्षदेखि पत्रकारितामा सक्रिय कुँवर आभास डटकमकी सञ्चालिका, नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाकी जिल्ला सदस्य तथा नेपाल प्रेस युनियन कञ्चनपुरकी नेतृ हुन्। उनले जिल्लाका समसामयिक घटनाक्रमहरूमाथि निरन्तर कलम चलाउँदै आएकी छिन्।
सम्मान ग्रहण गरेपछि पत्रकार कुँवरले यो सम्मानले आफूलाई थप ऊर्जा र सामाजिक जिम्मेवारी बोध गराएको बताइन्। उनले भनिन्, “यो सम्मान मेरो मात्र होइन, समग्र खेलकुद बिटमा कलम चलाउने पत्रकारहरूको हो। यसले मलाई अझै जिम्मेवार भएर काम गर्न प्रेरणा दिएको छ।”
पत्रकार कुँवर सम्मानित भएपछि सहकर्मी पत्रकार तथा शुभचिन्तकहरूले सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन्।





