असत्यमाथि सत्यको विजयको सन्देश दिँदै बेलौरीको रामलीला भव्यताका साथ सम्पन्न

बेलौरी, कार्तिक २६ । ‘अधर्ममाथि धर्मको र असत्यमाथि सत्यको विजय’ को शाश्वत सन्देश बोकेको पौराणिक रामलीला महोत्सव यहाँ भव्य समारोहका बीच बुधबार सम्पन्न भएको छ। बेलौरी बजारमा १२ दिनदेखि जारी रहेको उक्त धार्मिक अनुष्ठानको समापन समारोह रावण दहन र श्रीरामको राज्याभिषेकसँगै गरिएको हो।

बेलौरी सांस्कृतिक तथा रामलीला समितिको आयोजनामा भएको समापन समारोहमा हजारौंको संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणको रूपमा रहेको अहंकारको प्रतीक रावणको विशाल पुत्ला दहन गरिएको थियो। भगवान श्रीरामले असत्यका प्रतीक रावणको वध गरेसँगै दहन गरिएको पुत्लाको दृश्यले दर्शकहरूलाई रोमाञ्चित बनाएको थियो।

कार्यक्रममा लीला अवधिभर विभिन्न भूमिका निर्वाह गर्ने कलाकारहरू, सहयोगी संस्थाहरू तथा स्वयंसेवकहरूलाई प्रशंसापत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो।

समितिका अध्यक्ष दिनेश कुँवरले कार्यक्रमलाई सफल बनाउन अहोरात्र खट्ने सबै कलाकार, आर्थिक तथा भौतिक सहयोग गर्ने दाताहरू र उपस्थित सम्पूर्ण दर्शकहरूलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। रामलीलाको अन्तिम दिनको मञ्चन र रावण दहन हेर्न बेलौरी तथा आसपासका क्षेत्रबाट उल्लेख्य संख्यामा सर्वसाधारणको भीड लागेको थियो।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ