कञ्चन आवाज डेस्क । रुस र युक्रेनबीच जारी लामो युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा प्रस्तावित विवादास्पद २८ बुँदे शान्ति योजनामा व्यापक परिमार्जन गरिएको छ। उक्त योजनामाथि जेनेभामा भएको सघन कूटनीतिक छलफलपछि अमेरिका र युक्रेनका अधिकारीहरू १९ बुँदे मस्यौदा तयार गर्न सहमत भएका छन्।
यसअघि ट्रम्प प्रशासनले युक्रेनसँग कुनै परामर्श नगरी, केवल रुससँगको सल्लाहमै २८ बुँदे शान्ति योजना तयार पारेको थियो। सो एकपक्षीय योजनाको युरोपेली राष्ट्रहरू र स्वयम् ट्रम्पकै रिपब्लिकन पार्टीभित्रैबाट तीव्र आलोचना भएपछि अमेरिकी र युक्रेनी अधिकारीहरू वार्ताका लागि जेनेभा पुगेका थिए। सोही छलफलपछि दुई देशले सहमतिमा १९ बुँदे मस्यौदा तयार पारेको फाइनान्सियल टाइम्सले युक्रेनी प्रथम उप–विदेशमन्त्री सर्गई किस्लित्स्यालाई उद्धृत गर्दै उल्लेख गरेको छ।
नयाँ मस्यौदा तयार भए पनि युद्धका सबैभन्दा पेचिला र संवेदनशील विषयहरू भने टुंगिन बाँकी छन्। युक्रेनी भूमि रुसलाई सुम्पने र नेटोको सदस्यतालगायतका सर्वाधिक विवादास्पद मुद्दाहरूमा वार्ताकारहरूले निर्णय लिन नसकेपछि ती विषय ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले नै उच्चस्तरीय छलफल गरेर टुंग्याउने सहमति भएको छ। जेनेभा बैठकमा युक्रेनी वार्ताकारहरूले आफ्नो संविधानअनुसार भूमि त्याग्ने अधिकार आफूहरूमा निहित नभएको र त्यस्तो निर्णयका लागि जनमत संग्रह आवश्यक पर्ने कानुनी अड्चन प्रस्तुत गरेका थिए।
ट्रम्पको अघिल्लो २८ बुँदे योजनालाई लिएर अमेरिकाभित्रै पनि संशय उत्पन्न भएको छ। अमेरिकी विदेशमन्त्री मार्को रूबियोले केही अमेरिकी सांसदहरूसँगको अनौपचारिक कुराकानीमा उक्त प्रस्ताव रुसले नै तयार पारेर पठाएको दाबी गरेको समाचार बाहिरिएका छन्। यद्यपि, शनिबार साँझ सामाजिक सञ्जालमा लेख्दै रूबियोले शान्ति प्रस्ताव अमेरिकाले नै तयार गरेको जिकिर गरेका छन्। चौतर्फी दबाबपछि ट्रम्पले पनि २८ बुँदे प्रस्ताव अन्तिम नभएको र परिमार्जन गर्न सकिने लचकता देखाएका थिए।
रुसले लामो समयदेखि उठाउँदै आएका मागहरू ट्रम्पको मूल योजनामा हावी भएको देखिन्छ। जसमा युक्रेनले क्राइमिया र डोनबास क्षेत्रसहित हाल आफ्नो नियन्त्रणमा रहेका तर रुसले दाबी गरेका भूभाग छाड्नुपर्ने, सेनाको आकार घटाउनुपर्ने र पश्चिमी शान्ति सेनाको भूमिका नहुने जस्ता सर्तहरू छन्। विशेषगरी दोनेत्स्कको १० प्रतिशत भूभाग, जहाँ युक्रेनले बलियो रक्षात्मक संरचना बनाएको छ, सो क्षेत्र रुसलाई सुम्पिँदा युक्रेनको सुरक्षामा गम्भीर खतरा पुग्ने विश्लेषण गरिएको छ।
राष्ट्रपति जेलेन्स्कीले ट्रम्प प्रशासनलाई चिढाउँदा थप क्षति हुन सक्ने आँकलन गर्दै हाललाई यो योजनामा ‘इमानदारीपूर्वक संलग्न हुने’ नीति लिएका छन्। युरोपेली मुलुकहरूको असन्तुष्टि र अमेरिकाभित्रैको राजनीतिक दबाबका बीच तयार भएको यो १९ बुँदे मस्यौदाले युद्धविरामको सम्भावनालाई जीवित राखे पनि अन्तिम निर्णय भने ट्रम्प र जेलेन्स्कीको आगामी उच्चस्तरीय वार्तामै निर्भर हुने देखिन्छ।





