बेलौरी नगरपालिका: लेखा प्रमुखलाई ‘कामकाज’को जिम्मेवारी मात्र, ‘प्रमुख प्रशासकीय अधिकृत’ पदनाम प्रयोगमा मन्त्रालयको आपत्ति

कञ्चन आवाज ब्यूरो बेलौरी (कञ्चनपुर), ८ चैत ।

कञ्चनपुरको बेलौरी नगरपालिकामा कर्मचारीको पदनाम प्रयोगलाई लिएर प्रशासनिक अन्योल र विरोधाभास देखिएको छ। नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रिक्त भएपछि प्रशासनिक र आर्थिक जिम्मेवारी सम्हालिरहेका लेखा प्रमुखले मन्त्रालयले प्रदान नगरेको ‘ओहोदा’ प्रयोग गरेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसमा आपत्ति जनाएको हो।

प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त भएपछि नगरपालिकाको दैनिक कार्यसम्पादन प्रभावित नहोस् भन्नका लागि मन्त्रालयले लेखा प्रमुख ओम प्रसाद उपाध्यायलाई ‘अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक तथा प्रशासनिक कामकाज गर्ने’ गरी जिम्मेवारी सुम्पेको थियो। तर, जिम्मेवारी पाए लगत्तै उपाध्यायले आफ्ना हरेक सरकारी कागजात, पत्राचार र हस्ताक्षरमा  ‘प्रमुख प्रशासकीय अधिकृत’ पद उल्लेख गर्न थालेका छन्।

मन्त्रालयअन्तर्गतको स्थानीय तह कर्मचारी प्रशासन शाखाका प्रमुख नित्यराज भट्टराईले उपाध्यायको यो कदम प्रशासनिक हिसाबले नियमसंगत नभएको बताएका छन्। कञ्चन आवाजसँग कुरा गर्दै भट्टराईले भने, “उहाँलाई केवल रिक्त रहेको ठाउँमा काम नरोकियोस् भन्नका लागि ‘कामकाज गर्ने’ अस्थायी जिम्मेवारी दिइएको हो, प्रमुख प्रशासकीय अधिकृत नै भनेर नियुक्ति गरिएको होइन। त्यसैले उहाँले सो पदनाम लेख्न र प्रयोग गर्न मिल्दैन, निमित्त चाँही मिल्छ।  ”

यसअघि लेखा प्रमुख उपाध्यायले आफूलाई मन्त्रालयले सोही पद (प्रमुख प्रशासकीय अधिकृत) को जिम्मेवारी दिएको दाबी गरेपछि कञ्चन आवाजले उनकै भनाइलाई आधार मानी समाचार सम्प्रेषण गरेको थियो। तर, मन्त्रालयको पछिल्लो आधिकारिक स्पष्टीकरण र प्राप्त प्रशासनिक कागजातहरूको विश्लेषण गर्दा उपाध्यायको दाबी र मन्त्रालयको वास्तविक आदेशबीच तादात्म्यता देखिएको छैन।

उपाध्यायले अहिले पनि आफूले ‘मन्त्रालयको पत्रको आशय र निर्देशन’ अनुसार नै सो पद प्रयोग गरेको जिकिर गरिरहेका छन्। यद्यपि, प्रशासनिक विज्ञहरूका अनुसार ‘कामकाज’ गर्न खटिनु र सोही पदको पूर्णकालीन ‘ओहोदा’ धारण गर्नु कानुनी र प्रशासनिक रूपमा नितान्त भिन्न प्रक्रिया हुन्।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ