तस्वीरः यो एआइ निर्मित हो।
बेलौरी, कञ्चनपुर (कञ्चन आवाज)
नेपाल सरकारले स्थलमार्ग हुँदै नेपाल भित्रिने विदेशी पर्यटकका सवारीसाधनलाई सहज बनाउन अनलाइन दर्ता र राजश्व भुक्तानी प्रणालीको सुरुवात गरेको छ। अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त अनलाइन प्रणालीको शुभारम्भ गर्नुभएको हो। भन्सार विभागले विकास गरेको यस प्रणाली सञ्चालनमा आएसँगै अब नेपालमा सवारीसाधन लिएर भित्रिने भारतीय तथा तेस्रो मुलुकका पर्यटकले घरैबाट अनलाइनमार्फत आफ्नो सवारीको विवरण भर्न र राजश्व तिर्न सक्नेछन्।
यसअघि कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगरलगायतका देशका विभिन्न भन्सार नाकामा पुगेर पर्यटकले भौतिक रुपमै अस्थायी इजाजत लिनुपर्ने र यात्रा अवधि सकिएपछि नवीकरण वा जरिवानाका लागि पुनः भन्सार कार्यालय धाउनुपर्ने झन्झटिलो बाध्यता थियो। नयाँ प्रणाली सुरु भएसँगै पर्यटकले अनलाइनबाट राजश्व तिरेपछि आफ्नो इमेलमा प्राप्त हुने क्यूआर कोड भन्सार नाकामा देखाएर बिना झन्झट नेपाल प्रवेश गर्न पाउनेछन्। नयाँ सेवाको शुभारम्भ गर्दै अर्थमन्त्री डा. वाग्लेले सरकारले सुशासन र छरितो सार्वजनिक सेवा दिने नीतिअनुरुप यो कार्य सुरु गरेको बताउँदै पर्यटकले सीमा क्षेत्रमा पाउने सास्ती अब पूर्ण रुपमा हट्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले विदेशी सवारीसाधनको इजाजत अब पूर्ण रुपमा डिजिटल प्रणालीमा गएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाल प्रवेश गर्ने यात्रु तथा पर्यटकले प्रयोग गर्ने विदेशी सवारीसाधन सम्बन्धी विवरण अनलाइनमै स्वयं घोषणा गर्न सक्ने यस प्रणालीले भन्सार प्रक्रियालाई थप पारदर्शी र प्रभावकारी बनाउनेछ। नेपाल राष्ट्रिय एकद्वार प्रणालीमार्फत विदेशी नागरिकलाई सहजता प्रदान गर्न अस्थायी सवारी आयात मोड्युल विकास गरिएको विभागले जनाएको छ। आफ्नो यात्रा अवधि सकिएको खण्डमा पर्यटकले आफू रहेको नेपालस्थित ठेगानाबाटै अनलाइनमार्फत यात्रा अवधि थप गर्न सक्ने नवीन सुविधासमेत यसमा समावेश गरिएको छ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालद्वारा जारी विज्ञप्तिअनुसार तत्कालका लागि यो सेवा भारतीय स्थलमार्ग हुँदै नेपाल भित्रिने भारतीय तथा तेस्रो देशका पर्यटकले प्रयोग गर्ने सवारीसाधनका लागि लागू गरिएको छ। सुदूरपश्चिम प्रदेशका सीमा नाकाबाट बर्सेनि हजारौंको संख्यामा भारतीय पर्यटक भित्रिने गरेका सन्दर्भमा यो अनलाइन सुविधाले उनीहरुलाई झन्झटमुक्त सेवा दिई यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।





