बेलौरीमा सशस्त्र प्रहरी र नगरपालिकाको सहकार्यमा २१ दिने ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु, ३० युवा सहभागी

कञ्चन आवाज, बेलौरी (कञ्चनपुर) ।

विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यमा खटिन सक्ने स्थानीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले कञ्चनपुरको बेलौरी नगरपालिकामा २१ दिने ‘समुदाय विपद् स्वयंसेवक तालिम’ सुरु भएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी र बेलौरी नगरपालिकाको संयुक्त आयोजनामा आज वैशाख २९ गतेदेखि उक्त तालिमको औपचारिक शुभारम्भ गरिएको हो।

सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टको प्रमुख आतिथ्य तथा बेलौरी नगरपालिकाका प्रमुख पोतिलाल चौधरीको सभापतित्वमा उद्घाटन भएको यस आवासीय तालिममा नगरपालिकाका विभिन्न वडाका ३० जना युवा (२१ पुरुष र ९ महिला) सहभागी छन्।

कार्यक्रममा बोल्दै नगर प्रमुख पोतिलाल चौधरीले बेलौरीमा दोदा र शारदा नदीको डुबान, चट्याङ र जङ्गली जनावरको आक्रमण जस्ता विपद्को उच्च जोखिम रहेकोले स्थानीय स्तरमै जनशक्ति आवश्यक परेको बताउनुभयो। “विगतमा ७ दिने तालिम मात्र दिँदा अपुग भयो, त्यसैले यसपटक सशस्त्र प्रहरीको प्रत्यक्ष सहकार्यमा २१ दिने तालिम सञ्चालन गरेका छौँ,” नगर प्रमुख चौधरीले भन्नुभयो, “यो तालिम लिएका युवाहरू भोलिका दिनमा आफ्नै वडा र टोलमा विपद् व्यवस्थापनका प्रशिक्षक बन्नेछन्।” उहाँले विपद्को उच्च जोखिममा रहेका वडा नं. २, ५, ६, ८ र १० बाट ४/४ जना र अन्य वडाबाट २/२ जना सहभागी गराइएको जानकारी दिँदै तालिममा एक दिन पनि अनुपस्थित नहुन निर्देशन दिनुभयो।

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) प्रेम प्रसाद सिग्देलले ‘हाम्रो सुरक्षा हाम्रै हातमा’ भन्ने भावनालाई आत्मसात् गर्नुपर्नेमा जोड दिनुभयो। “विपद् पर्दा सबैभन्दा पहिले उद्धारमा खटिने भनेको स्थानीय समुदाय नै हो, जसरी हालै दोदा नदीमा डुबेको बच्चालाई स्थानीयले नै निकालेका थिए,” एसपी सिग्देलले भन्नुभयो, “यो तालिम लिने युवाहरू समुदायको सङ्कटका साथी र भरपर्दो आधार बन्नेछन्।”

कार्यक्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बेलौरीका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) योग्य बस्नेतले तालिममा ५४ सैद्धान्तिक र ९ व्यावहारिक गरी जम्मा ६३ पिरियड सञ्चालन हुने जानकारी दिनुभयो। विपद् व्यवस्थापनमा विशेष तालिम प्राप्त ७ जना सशस्त्र प्रहरी कर्मचारीहरूले प्राथमिक उपचार, बाढी तथा पहिरो उद्धार, अग्नि नियन्त्रण, डोरीको माध्यमबाट गरिने उद्धार अभ्यास लगायतका विषयमा प्रशिक्षण दिनेछन्।

कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह विष्टले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले नेपालभर विपद्को बेलामा आफ्नो ज्यानको बाजी लगाएर उद्धार र सहयोग गरिरहेको भन्दै सुरक्षा निकायको प्रशंसा गर्नुभयो। बेलौरी नगरपालिकाले विपद् व्यवस्थापनमा राम्रो काम गरिरहेको बताउँदै उहाँले युवाहरूलाई तालिममा सिकेका कुरा आफ्नो टोल र छिमेकमा सिकाउन आग्रह गर्नुभयो।

विपद्को समयमा सुरक्षाकर्मी पुग्नुअघि नै ‘फर्स्ट रेस्पोन्डर’का रूपमा काम गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने यस कदमले बेलौरीका नागरिकको जनधनको सुरक्षामा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ