पुनर्वासको कंकड सीमा क्षेत्रबाट अवैध डिजेल बरामद, भन्सार चलान

कञ्चनपुर, १ जेठ ।

सशस्त्र प्रहरी बलले कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित नेपाल भारत सीमा क्षेत्रबाट अवैध रूपमा भित्र्याइँदै गरेको इन्धन बरामद गरेको छ। पुनर्वास नगरपालिका वडा नम्बर ८ कंकड सीमा इलाकामा खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको डिजेल नियन्त्रणमा लिएको हो।

सशस्त्र प्रहरी बल नेपाल बीओपी कंकडको नियमित गस्ती टोलीले सीमा क्षेत्रमा जाँच गर्ने क्रममा बेवारिसे अवस्थामा लुकाइछिपाई राखिएको उक्त अवैध डिजेल फेला पारेको हो। बरामद गरिएको ८० लिटर डिजेलको बजार मूल्य अनुमानित १७ हजार ६०० रुपैयाँ बराबर रहेको छ।

सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म बेलौरीका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतका अनुसार सीमा क्षेत्रमा हुने यस्ता गैरकानुनी गतिविधि र तस्करी नियन्त्रणका लागि सुरक्षा निकायले आफ्नो सक्रियता तीव्र पारेको छ।

नियन्त्रणमा लिइएको उक्त इन्धनलाई आवश्यक कानुनी कारबाही र प्रक्रियाका लागि कैलाली भन्सार कार्यालयमा दाखिला गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ