बेलौरी, कञ्चनपुर
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत आज कञ्चनपुरको बेलौरी नगरपालिकामा भएको वडा अधिवेशनमा अधिकांश वडाहरूमा नेतृत्व सर्वसम्मत रूपमा चयन भएको छ भने बाँकी रहेको वडा नम्बर ९ मा पनि सहमति जुटाउने प्रयास भइरहेको छ।
पार्टीको केन्द्रीय निर्वाचन कार्यतालिका अनुसार आज स्थानीय अनुकूलतालाई मध्यनजर गर्दै देशभर वडा अधिवेशनहरू भइरहेका छन्। यसैक्रममा बेलौरी नगरपालिकाभित्र रहेका दशवटा वडाहरूमध्ये नौवटा वडामा नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन भइसकेको नेपाली कांग्रेस बेलौरी नगर समितिका सभापति पेपुराम चौधरीले जानकारी दिनुभएको छ। वडा नम्बर एकदेखि आठसम्म र वडा नम्बर दशमा निर्धारित प्रक्रिया पूरा गरी नेतृत्व चयन गरिएको छ।
वडा नम्बर एकको सभापतिमा नरेश चन्द, वडा नम्बर दुईमा राजबहादुर चौधरी, वडा नम्बर तीनमा सुब्बा राना, वडा नम्बर चारमा कृष्णबहादुर चन्द र वडा नम्बर पाँचमा जीवबहादुर चौधरी चयन हुनुभएको छ। त्यसैगरी वडा नम्बर ६ मा भवानी सिंह विष्ट, वडा नम्बर सातमा कमान सिंह चौधरी, वडा नम्बर आठमा राम आश्रय राना र वडा नम्बर दशमा प्रेमबहादुर चन्द सर्वसम्मत रूपमा वडा सभापतिमा चयन हुनुभएको छ। वडा नम्बर ९ मा भने हालसम्म सहमति जुट्न सकेको छैन र त्यहाँ सहमति कायम गर्नका लागि निरन्तर प्रयास भइरहेको नगर सभापति चौधरीले बताउनुभयो।





