एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा : ओलीलाई ‘अभिभावक’ बन्न र विद्या भण्डारीलाई पार्टीमा फर्काउन आग्रह

मङ्सिर ९, काकाठमाडौँ। नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्दै वर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । मुलुकको बदलिँदो राजनीतिक परिस्थिति र पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याउँदै पोखरेलले मङ्गलबार एक विशेष वक्तव्यमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीको विधानमा ‘दुई कार्यकाल’ को प्रावधान पुनर्स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । अध्यक्ष ओलीले नै सातौं महाधिवेशनमा अघि सारेको र आठौं, नवौं तथा दशौं महाधिवेशनले स्वीकार गरेको यो प्रणालीलाई नेतृत्व विकास र हस्तान्तरणको सहज प्रक्रियाका रूपमा पुनः लागू गरिनुपर्ने उनको तर्क छ । पोखरेलले अध्यक्ष ओलीबाट नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिकाको अपेक्षा गर्दै सहज निकासका लागि अनुरोध समेत गरेका छन् ।

वक्तव्यमा अर्को महत्त्वपूर्ण विषयका रूपमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको वकालत गरिएको छ । पोखरेलले चार दशक लामो योगदान गरेकी भण्डारीलाई पार्टी सदस्यताबाट वञ्चित गरिनु अनुचित भएको भन्दै उहाँलाई पार्टी काममा फर्कने वातावरण निर्माण गर्नुपर्ने बताएका छन् । पूर्व राष्ट्रपतिको अनुभव र ऊर्जाले पार्टीलाई वैचारिक र सांगठनिक रूपमा थप सशक्त बनाउने विश्वास पोखरेलले व्यक्त गरेका छन् ।

समसामयिक राजनीतिक घटनाक्रमबारे टिप्पणी गर्दै उनले भदौ २३ गते सुशासनको मागसहित ‘जेनजी’ (नव पुस्ता) ले गरेको आन्दोलनप्रति सम्मान व्यक्त गरे पनि त्यसक्रममा भएको घुसपैठ र हिंसात्मक घटनाको भने निन्दा गरेका छन् । विघटित प्रतिनिधिसभाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उनले संविधानलाई लिकमा ल्याउन र लोकतान्त्रिक प्रक्रिया पुनर्बहाली गर्नुपर्ने अभिभारा एमालेको काँधमा आएको उल्लेख गरे । उनले जनताको बहुदलीय जनवाद (जबज) को ३३ वर्षे अभ्यासको समीक्षा गर्दै यसलाई नयाँ सन्दर्भमा सिर्जनात्मक ढंगले कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

महाधिवेशनका लागि यही मंसिर १३ गते प्रतिनिधि चयन हुँदैछ । वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग गर्न र स्वस्थ प्रतिस्पर्धामा भाग लिन कार्यकर्तालाई आह्वान गरेका छन् । निकट भविष्यमै राजनीतिक तथा सांगठनिक दृष्टिकोणको विस्तृत दस्तावेज सार्वजनिक गर्ने प्रतिबद्धता जनाउँदै उनले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन सामूहिक नेतृत्व र पहलकदमीमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ