इनरुवा (सुनसरी) — सुनसरीको इनरूवा नगरपालिका–७ स्थित चाँदवेलाबाट सशस्त्र प्रहरी बलले बिहीबार बिहान हवाई फायर गरी ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरेको छ । प्रतिबन्धित १५३ किलो गाँजासहित ओसारपसारमा संलग्न एक जनालाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा राख्न हवाई फायर गर्नुपरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बीओपी) साहेवगंजबाट खटिएको विशेष टोलीले २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको छ । चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्लाष्टिकका प्याकेटमा बेरेर लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको गाँजा फेला परेको थियो ।
तस्कर समूहले गाँजा ओसारपसारका लागि मोटरसाइकल प्रयोग गरी गाडीको ‘स्कटिङ’ (निगरानी) गरिरहेका थिए । सुरक्षाकर्मीले गाडी रोक्न खोज्दा तस्कर समूह उम्किन खोजेपछि नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको थियो । गोली चलेपछि सुरक्षाकर्मीले गाडी र त्यसका चालकलाई नियन्त्रणमा लिन सफल भएका हुन् ।
घटनालगत्तै मोटरसाइकलमा सवार अन्य सन्दिग्ध व्यक्तिहरू भने फरार भएका छन् । पक्राउ परेका गाडी चालक चौधरी, बरामद गरिएको गाँजा तथा सवारी साधनलाई आवश्यक कारबाहीका लागि नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरीले जनाएको छ । फरार रहेकाहरूको खोजी कार्यलाई पनि तीव्र पारिएको छ ।





