कञ्चन आवाज संवाददाता | बेलौरी, कञ्चनपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधि सभाको निर्वाचन निर्धारित समयमै सम्पन्न गरी मुलुकको नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्न सरकार आतुर रहेको स्पष्ट पार्नुभएको छ। २२औँ राष्ट्रिय ज्यापु दिवस तथा यःमरि पुन्हिका अवसरमा बिहीबार काठमाडौँको वसन्तपुरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।
काठमाडौँको वसन्तपुरमा ज्यापु संस्कृति विकास कोषले आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले सरकारको मुख्य ध्येय नै निर्वाचनमार्फत नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गर्नु रहेको जिकिर गर्नुभयो। उहाँले भन्नुभयो, “सरकारले आउँदो फागुन २१ गते आम निर्वाचन गराई युवा शक्तिको हातमा सत्ता सुम्पिएर मुलुकलाई तीव्र विकासको मार्गमा अग्रसर गराउनुपर्ने हाम्रो दायित्व हो। तसर्थ घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने लक्ष्यका साथ सरकार सम्पूर्ण रुपले तयारीमा जुटेको छ”। उहाँले यस राष्ट्रिय अभियानलाई सफल पार्न सबै नेपालीको सहभागिता र सहयोगको अपेक्षा समेत गर्नुभयो।
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले मुलुकमा हालै देखिएको ‘जेनजी’ आन्दोलन र त्यसले उठाएका मुद्दाहरूप्रति सरकार गम्भीर रहेको सङ्केत गर्नुभयो। “भदौ २३ र २४ को जेनजी आन्दोलनसँगै घटेका घटनाबाट हामीले एउटा पाठ सिक्नुपरेको छ,” प्रधानमन्त्रीले भन्नुभयो, “मुलुकको युवा शक्तिले भ्रष्टाचार अन्त्य, सुशासन स्थापना र आमजनतालाई रोजगारी, गाँस-वास-कपासको सुनिश्चितता माग गरेको छ”। उहाँले ती जनचाहना पूरा गर्न सबै पक्ष कटिबद्ध भएर आ-आफ्नो ठाउँबाट लाग्न आवश्यक रहेकोमा जोड दिनुभयो।
सांस्कृतिक पर्वको मञ्चबाट प्रधानमन्त्रीले व्यक्त गरेको यो राजनीतिक प्रतिबद्धतालाई कञ्चनपुर लगायत सुदूरपश्चिमका राजनीतिक वृत्तमा पनि अर्थपूर्ण रूपमा हेरिएको छ। सरकारले निर्वाचनको वातावरण बनाउँदै गर्दा स्थानीय स्तरमा पनि चुनावी सरगर्मी बढ्ने अपेक्षा गरिएको छ।





