काठमाडौँ। सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्बहाली गर्न परमादेश जारी गरेपछि शाक्यले आफूले न्याय पाएको प्रतिक्रिया दिएका छन्। सोमबार न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले सरकारको निर्णय बदर गर्दै शाक्यलाई पूर्ववतः जिम्मेवारीमा फर्काउन आदेश दिएसँगै उनले अब थप जिम्मेवार भएर काम गर्ने बताएका हुन्।
अदालतको फैसलाले ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमाथि गम्भीर प्रश्न उठाएको छ। इजलासले शाक्यलाई हटाउने मन्त्री घिसिङको प्रस्ताव र सोका आधारमा भएको मन्त्रिपरिषद्को निर्णयलाई ‘पूर्वाग्राही, प्रतिशोधपूर्ण र स्वेच्छाचारी’ ठहर गरेको छ। परमादेशमा भनिएको छ, ‘सेवाको सर्त तथा सुविधासम्बन्धी विनियावली, २०६१ बमोजिमको कुनै पनि प्रक्रिया अबलम्बन नगरी पदबाट हटाएको देखिँदा विपक्षी विभागीय मन्त्रीको प्रस्ताव नै मिसिलको मुहारबाटै स्वेच्छाचारी देखियो।’ अदालतले उक्त निर्णयलाई ‘स्वच्छ, न्यायसंगत र उचित’ (Just, Fair and Reasonable) मान्न नसकिने व्याख्या गर्दै २०८२ असोज ५ को निर्णय र त्यसपछिका सबै कामकारबाही उत्प्रेषणको आदेशले बदर गरेको हो।
फैसला सार्वजनिक भएलगत्तै शाक्यले अदालतप्रति आभार व्यक्त गर्दै देशको संवेदनशील अवस्थालाई मध्यनजर गरी काम गर्ने बताए। ऊर्जामन्त्री घिसिङसँगको विगतको तितोपन र अबको सहकार्यबारे सोधिएको प्रश्नमा शाक्यले उच्च व्यावसायिकता प्रदर्शन गर्ने संकेत गरेका छन्। “मैले हिजो पनि काम गर्न सकिन्छ भनेकै हो र गरेको पनि हो। अहिले देशको अवस्था झनै संवेदनशील छ, त्यसैले आफ्नो क्षमताले भ्याएसम्म थप सक्रिय भएर मन्त्रीज्यूसँग सहकार्य गरेरै काम गर्छु,” शाक्यले भने। उनले आफू कुनै व्यक्ति वा मन्त्रीका लागि नभई देश र जनताका लागि काम गर्न आएको जिकिर गरे।
घटनाक्रम अनुसार, ‘जेनजी आन्दोलन’ पछि बनेको अन्तरिम सरकारमा कुलमान घिसिङ ऊर्जामन्त्री नियुक्त भएलगत्तै असोज ५ गते शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको जिम्मा दिइएको थियो। २०८१ चैत ११ मा चार वर्षे कार्यकालका लागि नियुक्त शाक्यलाई ६ महिना पनि काम गर्न नपाउँदै विधि मिचेर हटाइएको भन्दै उनले कात्तिक १७ गते सर्वोच्चमा रिट दायर गरेका थिए। मन्त्री घिसिङले ट्रंक र डेडिकेटेड लाइनको बक्यौता उठाउने निर्णय गरेलगत्तै विदेश भ्रमणबाट फर्किएका शाक्यले सो निर्णय कार्यान्वयन गर्न बोर्ड बैठक डाक्ने तयारी गरिरहँदा उनलाई पदमुक्त गरिएको थियो।





