बेलौरी १ हनुमान चोक : मन्दिरबाट करिब ४० किलो पित्तलका घण्टी चोरी, अनुसन्धान तीव्र

कञ्चन आवाज संवाददाता बेलौरी (कञ्चनपुर)। कञ्चनपुरको दक्षिणी क्षेत्रको धार्मिक स्थलका रूपमा परिचित बेलौरी नगरपालिका १ स्थित हनुमान चोक (उभिया फाटा) का मन्दिरहरूबाट गए राति ठूलो परिमाणमा पित्तलका घण्टीहरू चोरी भएका छन्। धार्मिक आस्थाको केन्द्र मानिने उक्त ठाँउमा रहेका कालिका र शिव मन्दिरबाट अज्ञात समूहले करिब ४० किलो बराबरका घण्टीहरू चोरी गरेको हो।

इलाका प्रहरी कार्यालय बेलौरीले दिएको जानकारी अनुसार मन्दिर परिसरमा रहेका हनुमान तथा राम–सीता–लक्ष्मणका मूर्तिहरू अगाडि झुन्ड्याइएका घण्टीहरू काटेर लगिएको छ। मध्यराति १२ बजेको आसपासमा भएको अनुमान गरिएको यस घटनामा हनुमानको मूर्ति अगाडि रहेको करिब १५ किलोको एक थान ठूलो घण्टी र अन्य मूर्तिहरू अगाडिका करिब ८- ८ किलोका तीन थान घण्टीसहित साना ठूला गरी दर्जन बढी घण्टीहरू चोरी भएका छन्। प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाई अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

मन्दिर परिसरमा सीसीटीभी क्यामेरा जडान नभएका कारण अनुसन्धानमा केही चुनौती देखिए पनि प्रहरीले शंकास्पद व्यक्तिहरूको सुक्ष्म निगरानी सुरु गरेको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल प्रसाद चौधरीका अनुसार विशेष गरी कवाडी सङ्कलक र लागुऔषध सेवनकर्ताहरूको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ। चोरी भएका केही घण्टीहरूमा दाताहरूले आफ्नो वा पितृहरूको नाम खोपाएको हुनाले पहिचान गर्न सहज हुने अपेक्षा सहित  प्रहरीले निगरानी बढाएको छ।

प्रहरीले धार्मिक स्थलहरूको सुरक्षामा गम्भीरता अपनाउँदै दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन टोली परिचालन गरिएको जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ