बेलौरी, कञ्चनपुर
आईसीसी टी–ट्वान्टी विश्वकप अन्तर्गतको आफ्नो पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली बलियो प्रतिद्वन्द्वी इङ्गल्याण्डसँग केवल ४ रनको झिनो अन्तरले पराजित भएको छ । आइतबार भएको अत्यन्तै प्रतिष्पर्धात्मक र रोमाञ्चक खेलमा जितका लागि १८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रन मात्र जोड्न सकेपछि हार बेहोर्न पुगेको हो ।
मुम्बईस्थित वानखाडे क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै ७ विकेटको क्षतिमा १८४ रन बनाएको थियो । इङ्गल्याण्डका लागि जेकब वेथेलले ५५ रन र कप्तान हेरी बेकरले ५३ रनको योगदान दिँदै अर्धशतकीय पारी खेले भने विल ज्याकले ३९ रन जोडे । नेपालका तर्फबाट बलिङमा दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २–२ विकेट लिए भने शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारे ।
नेपालको जवाफी ब्याटिङमा दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४४ रनको महत्त्वपूर्ण योगदान दिएका थिए । त्यस्तै लोकेश बम र कप्तान रोहित कुमार पौडेलले समान ३९–३९ रन बनाउँदै नेपाललाई जितको नजिक पुर्याएका थिए । अन्तिम ओभरसम्मै निकै रोमाञ्चक बनेको यस खेलमा इङ्गल्याण्डका बलर लिम डसनले २ विकेट लिँदै नेपालको लक्ष्य प्राप्तिमा बाधक बने ।
हारका बाबजुद पनि विश्वस्तरको टिम इङ्गल्याण्ड विरुद्ध नेपाली खेलाडीहरुले देखाएको यो प्रदर्शनले आगामी खेलहरुका लागि प्रशंसनीय आत्मविश्वास प्रदान गरेको छ । नेपाली टोलीको यो जुझारु प्रदर्शनले सुदूरपश्चिम प्रदेशका खेलप्रेमीहरु माझ उत्साह थपेको छ भने यसले विश्व क्रिकेटमा नेपालको बढ्दो क्षमतालाई समेत पुन: प्रमाणित गरेको छ ।





