श्रममन्त्री दीपककुमार साह पदमुक्त, पदीय मर्यादा दुरुपयोग गरेको आरोप

बेलौरी, कञ्चनपुर

प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई बिहीबार पदमुक्त गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिस र पदीय मर्यादा विपरीत कार्य गरेको अभियोगमा प्रधानमन्त्री शाहले साहलाई मन्त्रिपरिषद्बाट हटाउनुभएको हो ।

श्रममन्त्री साहले पदीय शक्तिको दुरुपयोग गर्दै आफ्नी श्रीमती जुनु श्रेष्ठलाई लामो समयदेखि निष्क्रिय रहेको स्वास्थ्य बीमा बोर्डको सदस्य पदमा नियुक्त गराई नियमित गराएको तथ्य बाहिरिएपछि उहाँ विवादमा पर्नुभएको थियो । रास्वपाको केन्द्रीय अनुशासन आयोगले गरेको छानबिनबाट पदीय मर्यादा उल्लंघन भएको पुष्टि भएपछि पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्रीलाई पत्र पठाउँदै साहलाई तत्काल फिर्ता बोलाउन (राइट टु रिकल) सिफारिस गर्नुभएको थियो ।

पार्टीले प्रधानमन्त्रीलाई पठाएको पत्रमा मन्त्री साहको कदमबाट पार्टीको छवि, आदर्श र सिद्धान्तमा गम्भीर आँच पुगेको उल्लेख गरिएको छ । सोही प्रकरणमा आवश्यक गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतालाई समेत सचेत गराउन पार्टीले सिफारिस गरेको छ । गत चैत १३ गते मन्त्री नियुक्त हुनुभएका साह महोत्तरी–२ बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ ।

श्रीमतीलाई सरकारी निकायमा नियुक्ति दिलाएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री शाहले रास्वपाका शीर्ष नेताहरूसँग छलफल गरी यो कदम चाल्नुभएको बालुवाटार स्रोतले जनाएको छ । श्रममन्त्रीको बहिर्गमनसँगै रिक्त रहेको मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार कसलाई सुम्पिने भन्ने विषयमा प्रधानमन्त्रीले आन्तरिक परामर्श तीव्र पार्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ