लालझाडी गाउँपालिकामा ‘शून्य बाँकी फाइल सप्ताह’ अभियान, सेवा प्रवाहलाई प्रभावकारी बनाइने

लालझाडी, कञ्चनपुर

सङ्घीय सरकारको निर्देशनबमोजिम कञ्चनपुरको लालझाडी गाउँपालिकाले सार्वजनिक सेवा प्रवाहलाई थप छिटोछरितो, पारदर्शी र जनमुखी बनाउने उद्देश्यले ‘शून्य बाँकी फाइल सप्ताह’ (जिरो पेन्डिङ फाइल विक) अभियान कार्यान्वयनमा ल्याएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजबहादुर सार्कीले सङ्घीय सरकारको नीति तथा निर्देशनलाई आत्मसात् गर्दै यस अभियानको कार्यान्वयन गरिएको जानकारी दिनुभएको छ।

गाउँपालिकामा सम्पन्न नियमित कर्मचारी बैठकले सङ्घीय सरकारको उक्त अभियानलाई कडाइका साथ पालना गर्ने निर्णय गरेको हो। बैठकमा यसअघिका निर्णयहरूको प्रगति समीक्षाका साथै चालू आर्थिक वर्षका योजना तथा कार्यक्रम कार्यान्वयनको अवस्थाबारे गम्भीर छलफल भएको थियो। सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन सम्पूर्ण कर्मचारीलाई पूर्ण रूपमा उत्तरदायी बनाइने विषयमा समेत बैठकले जोड दिएको छ।

सेवाग्राहीको सहजताका लागि गाउँपालिकाले नागरिक सहायता कक्षको व्यवस्थापन गर्ने र न्यूनतम सुविधासहितको स्तनपान कक्ष तथा अपाङ्गतामैत्री विश्रामस्थल निर्माण गर्ने निर्णय पनि गरेको छ। कार्यालयको कामकारबाहीमा सुशासन कायम गर्न कुनै पनि प्रकारको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा सम्बन्धित कार्यालय प्रमुख नै जिम्मेवार हुनुपर्ने कडा नीति भएकोले त्यस्तो कार्यमा संलग्न नहुन र आफ्नो उत्तरदायित्व पूरा गर्न मातहतका कर्मचारीहरूलाई कडा निर्देशन दिएको गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ