बेलौरी, कञ्चनपुर।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ स्थित श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रले स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध गराउँदै आएको औषधि वितरण सेवा पूर्ण रूपमा स्थगित गरेको छ। स्वास्थ्य बीमा बोर्डले परिमार्जन गरेको नयाँ दररेट व्यावहारिक नभएको र विगत सात महिनादेखिको दाबी भुक्तानी रोकिँदा नयाँ औषधि खरिद गर्न नसकिएको भन्दै केन्द्रले हाललाई यो सेवा बन्द गरेको हो।

कार्यालय प्रमुख एवं जनस्वास्थ्य निरीक्षक गोविन्द बहादुर विष्टद्वारा जारी गरिएको सूचना अनुसार स्वास्थ्य बीमा बोर्डको यही जेठ ११ गतेको निर्णय तथा जेठ १२ गतेको परिपत्र बमोजिम जेठ १६ गतेदेखि लागू हुने गरी नयाँ सुविधा थैली परिमार्जन गरिएको थियो। उक्त नयाँ व्यवस्था अन्तर्गत औषधि तथा प्रयोगशाला परीक्षणको मूल्य अत्यन्तै न्यून निर्धारण गरिएकाले सोही दररेटमा सेवा प्रवाह गर्न व्यावहारिक रूपमा ठूलो कठिनाइ आइपरेको स्वास्थ्य केन्द्रले जनाएको छ।
यसका साथै, उक्त स्वास्थ्य संस्थाले वि.सं. २०८२ सालको मंसिर महिनादेखि स्वास्थ्य बीमा बोर्डबाट पाउनुपर्ने दाबी भुक्तानी रकम हालसम्म प्राप्त गर्न सकेको छैन। लामो समयदेखि भुक्तानी रोकिएका कारण बजारबाट आवश्यक औषधि खरिद गर्न असमर्थ भई केन्द्रमा चरम आर्थिक संकट सिर्जना भएको पत्रमा उल्लेख छ। यही परिस्थितिलाई दृष्टिगत गर्दै स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको जेठ २१ गते बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि बीमा अन्तर्गतको औषधि वितरण सेवा स्थगित गर्ने निर्णय गरेको हो।
स्थानीय स्तरमा सर्वसाधारणका लागि स्वास्थ्योपचारको प्रमुख माध्यम मानिएको सरकारी स्वास्थ्य केन्द्रबाटै बीमाको औषधि पाउन छाडेपछि न्यून आय भएका विपन्न नागरिकहरू प्रत्यक्ष मार्कामा पर्ने निश्चित देखिएको छ। यस संवेदनशील विषयमा सम्बन्धित नियमनकारी निकाय तथा स्थानीय सरकारले तत्काल उचित निकास निकाल्नुपर्ने आवश्यकता देखिन्छ।





