मुक्त कमैयाको समस्या समाधान गर्न बजेटमै आवश्यक व्यवस्था गरिने: मुख्यमन्त्री भट्ट

धनगढी / कञ्चनपुर,

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले लामो समयदेखि जटीलरूपमा रहेको मुक्त कमैयाको आवास तथा जीविकोपार्जनसम्बन्धी समस्याको स्थायी समाधानका लागि प्रदेश सरकार दृढ संकल्पित रहेको बताउनुभएको छ।

आफ्नो आवास, गास र बासको उचित व्यवस्थापनको मागसहित मुख्यमन्त्री निवासमा पुगेको मुक्त कमैयाहरूको प्रतिनिधिमण्डलसँगको भेटका क्रममा मुख्यमन्त्री भट्टले सो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। उहाँले मुक्त कमैयाको पुनःस्थापना र उनीहरूको जीवनस्तर सुधारको विषय वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको स्पष्ट पार्दै आगामी बजेटमै यससम्बन्धी समस्या सम्बोधन गर्ने गरी आवश्यक व्यवस्था मिलाइने बताउनुभयो।

छलफलका क्रममा मुक्त कमैया प्रतिनिधिहरूले आफूहरू लामो समयदेखि आधारभूत आवश्यकताबाट वञ्चित रहँदै आएको गुनासो गर्दै राज्यबाट तत्काल ठोस कदम चालिनुपर्नेमा जोड दिएका थिए। जवाफमा मुख्यमन्त्री भट्टले समस्याको गम्भीरतालाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूसँग समन्वय गरी चरणबद्ध रूपमा काम अगाडि बढाइने आश्वासन दिनुभयो।

उक्त भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा कृषि मन्त्री दमनबहादुर भण्डारी, भौतिक पूर्वाधार राज्यमन्त्री जानकीदेवी कुँवर, कृषि मन्त्रालयका प्रतिनिधिहरू, नापी शाखा कैलालीका प्रमुख तथा मालपोत कार्यालय कैलालीका प्रमुखलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।

वर्षौंदेखि राज्यको मूल प्रवाहबाट पछाडि पारिएका तथा कष्टकर जीवन बिताइरहेका मुक्त कमैयाहरूको यस्ता समस्याहरू आगामी बजेटमार्फत सम्बोधन भएमा उनीहरूको सामाजिक तथा आर्थिक पुनरुत्थानमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ