काठमाडौँ।
संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा भाग लिन प्रधानमन्त्री बालेन्द्र शाह मङ्गलबार साँझ अमेरिका प्रस्थान गर्नुभएको छ भने उहाँको अनुपस्थितिमा सरकारको दैनिक प्रशासनिक कामकाज सञ्चालन गर्न कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई तोकिएको छ।
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्नुअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयस्थित कार्यकक्षमै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्लेले उहाँलाई बिदाइ गर्नुभएको थियो। सोही अवसरमा यात्राका क्रममा अध्ययन गर्नका लागि कार्यवाहक प्रधानमन्त्री वाग्लेले पल केनेडीद्वारा लिखित द राइज एन्ड फल अफ ग्रेट पावर्स पुस्तक प्रधानमन्त्री शाहलाई हस्तान्तरण गर्नुभएको थियो। मङ्गलबार साँझ ७:०० बजेको उडानमार्फत अमेरिकातर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री शाहले आगामी असोज ८ गते संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभालाई सम्बोधन गर्नुहुनेछ भने उहाँ महासभामा सहभागिता जनाएर असोज १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ।
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गरेसँगै नेपालको संविधान र प्रचलित कानुनी व्यवस्था अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिसमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुम्पिनु भएको हो। यसैगरी, प्रधानमन्त्री शाहले सम्हाल्दै आउनुभएको रक्षा मन्त्रालयको कार्यभार पनि स्वतः अर्थमन्त्री वाग्लेलाई नै तोकिएको छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल सोमबार नै अमेरिका प्रस्थान गर्नुभएकाले सो मन्त्रालयको कार्यभार पनि प्रधानमन्त्री शाहले अर्थमन्त्री वाग्लेलाई नै तोक्नुभएको थियो। जसअनुसार अब अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका साथै रक्षा र परराष्ट्र मन्त्रालयको समेत थप जिम्मेवारी सम्हाल्नुहुने भएको छ।





