नेपाल आदिवासी जनजाति महासङ्घ बेलौरी द्धारा जनप्रतिनिधि देखि डाक्टरसम्म २३८ जनालाई विशेष सम्मान

मीरा श्रेष्ठ, १२ पौष। कञ्चनपुरको बेलौरी नगरपालिकामा नेपाल आदिवासी जनजाति महासङ्घ बेलौरी नगर समन्वय परिषद्को आयोजनामा आदिवासी जनजातिबाट निर्वाचित जनप्रतिनिधि, जेष्ठ नागरिक, एकल महिला, एकल पुरुष, डाक्टर र राष्ट्रिय खेलाडीहरूलाई सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि संघीय सरकारको पूर्व खानेपानी मन्त्री बिना मगरका साथै विशिष्ट अतिथिमा बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी, उपप्रमुख जोगराम चौधरी भने अतिथिमा नगरप्रवक्ता हर्क बहादुर भूल, विभिन्न वडाका अध्यक्षहरू, बेलौरी नगर भलमान्सा संयोजक अमर चौधरी, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य दिपा चौधरी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा आदिवासी जनजातिका योगदानको कदर गर्दै २३८ जनालाई सम्मान गरिएको थियो। जसमध्ये २०७९ मा स्थानीय तहमा निर्वाचित २९ जना आदिवासी जनजाति जनप्रतिनिधिहरूलाई सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गरियो। एकल महिला र एकल पुरुष गरी १०० जनालाई पानी तताउने इलेक्ट्रिक कितली वितरण गरियो। जेष्ठ नागरिक १०० जनालाई ब्ल्याङ्केट प्रदान गरियो। साथै, एमबीबीएस डाक्टर बनेका ७ जना र राष्ट्रिय खेलाडी २ जनालाई विशेष सम्मान गरियो।

पूर्व खानेपानी मन्त्री बिना मगरले माओवादी आन्दोलनले आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गरेको र संविधान निर्माणमा आदिवासी जनजातिको ठूलो योगदान रहेको चर्चा गरिन। उनले भनिन, “यो संविधान जनताको रगत र पसिनाले कोरिएको हो। यसलाई गलत प्रचार गरेर कमजोर पार्ने प्रयत्न भइरहेको छ, तर हामी सधैं जनताको हितमा प्रतिबद्ध छौं।”

नगरप्रमुख पोतिलाल चौधरीले नगरपालिकाको विकास र समन्वयकारी भूमिकामा रहँदै भविष्यमा यस्ता कार्यक्रमहरू थप प्रभावकारी बनाइने बताए।बेलौरी नगर समन्वय परिषद्को अध्यक्ष कृष्ण गम्वाले कार्यक्रमको उद्देश्य आदिवासी जनजातिको हक अधिकार सुनिश्चित गर्न र उनीहरूको योगदानलाई सम्मान गर्न रहेको बताए। उनले नगरपालिकाको समन्वयकारी भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समुदायको शिक्षा र विकासका लागि थप कार्यक्रमहरू सञ्चालन गरिने जानकारी दिए।

कार्यक्रमले आदिवासी जनजातिको योगदानलाई कदर गर्दै नयाँ पुस्तालाई प्रेरणा दिने मात्र नभई समुदायलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकको भनाई छ। यस्तो सम्मान कार्यक्रमले स्थानीय विकास र समृद्धिको मार्ग प्रशस्त गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ