कञ्चनपुर ।
सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले प्रदेशको आर्थिक समृद्धि वनको वैज्ञानिक सदुपयोग, धार्मिक तथा साहसिक पर्यटनको एकीकृत विकास र आगामी बजेटमा बिचौलियाको प्रभाव अन्त्य गरेर मात्र हासिल हुने बताउनुभएको छ। एक अन्तर्वार्ताका क्रममा उहाँले प्रदेशलाई केवल बजेट खर्च गर्ने थलो मात्र नभई आम्दानी दिने सक्षम प्रदेशका रूपमा स्थापित गर्न आफ्नो मन्त्रालय योजनाबद्ध रूपमा अघि बढिरहेको स्पष्ट पार्नुभयो।
मन्त्री रावलका अनुसार प्रदेशको विकासमा वन क्षेत्र सबैभन्दा ठूलो आधार भए तापनि कानुनी जटिलताका कारण यसको पूर्ण सदुपयोग हुन सकेको छैन। उपयुक्त ऐन तथा नीति तर्जुमा गरी वन पैदावारको सदुपयोग गर्ने र समस्या समाधानका लागि मन्त्रालयले नीतिगत कदम चाल्ने उहाँको भनाइ छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको बाह्रसिङ्गाको विशाल झुण्ड, घोडाघोडी ताल, झिलमिला ताल जस्ता प्राकृतिक सम्पदा तथा भम्केनी धाम र बैजनाथ धामसहित नौवटै जिल्लाका प्रमुख शक्तिपीठलाई समेटेर एउटा बृहत् धार्मिक पर्यटन करिडोर निर्माण गरिने योजना उहाँले अघि सार्नुभयो। साथै, कर्णाली र महाकाली नदीमा सञ्चालन हुने र्याफ्टिङ जस्ता साहसिक खेलको प्रचारप्रसार र व्यवस्थापनमा विशेष जोड दिइने उहाँले उल्लेख गर्नुभयो।
सङ्घीयतापछि विकास निर्माण, सडक सञ्जाल विस्तार तथा विद्यालय भवन निर्माणमा उल्लेख्य सुधार आएको दाबी गर्दै उहाँले सेती र महाकाली अस्पतालमा दैनिक हजारौँ नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाइरहनु प्रदेश संरचनाकै उपलब्धि भएको बताउनुभयो। प्रदेश सरकारविरुद्ध फैलाइएका भ्रम चिर्दै उहाँले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा योजना छनोटमा बिचौलियाको प्रवेश र सेटिङलाई पूर्ण रूपमा विस्थापित गरी जनताले प्रत्यक्ष अनुभूति गर्ने पारदर्शी बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।





