बेलौरी (कञ्चनपुर) :
नेपाल विद्युत प्राधिकरणको ४१ औँ वार्षिकोत्सवका अवसरमा बेलौरी वितरण केन्द्र कञ्चनपुरका प्रमुख हिक्मत बिसीलाई कदरपत्रसहित सम्मानित गरिएको छ। काठमाडौँस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले वितरण केन्द्र प्रमुख बिसीलाई उक्त कदर पत्र प्रदान गर्नुभएको हो।

प्राधिकरणले उपलब्ध पुराना तथा अप्रयुक्त सामग्रीहरूको समुचित सदुपयोग गरी रुग्ण अवस्थामा रहेको आठ एमभिए, ३३/११ केभी सबस्टेसनलाई छोटो समयमै पुनः सञ्चालनमा ल्याएको भन्दै कार्यालयको रचनात्मक कार्यको उच्च मूल्याङ्कन गरेको छ। यसका साथै दक्षिणी कञ्चनपुर क्षेत्रमा लामो समयदेखि देखिएको न्यून भोल्टेजको समस्या समाधान गर्न सफल भएको तथा निर्धारित लक्ष्यभन्दा बढी अर्थात् १०३.४४ प्रतिशत राजस्व संकलन गरेकोमा केन्द्रलाई पुरस्कृत गरिएको प्राधिकरणले जनाएको छ।

दक्षिणी सीमावर्ती क्षेत्रमा विद्युत आपूर्तिलाई नियमित तथा भरपर्दो बनाउन सबस्टेसन सञ्चालनसँगै थप दुईवटा ११ केभी फिडर निर्माण गरिएको थियो भने ट्रान्सफर्मरहरूको क्षमता सुधार गरी भोल्टेजको समस्या केही हद सम्म समाधान गरिएको छ। सीमित स्रोत, साधन र जनशक्तिका बाबजुद पुराना उपकरणहरूको प्राविधिक पुनरुत्थान गरी सेवा प्रवाहलाई चुस्त बनाएपछि स्थानीय उपभोक्ता, किसान तथा उद्योगी व्यवसायीहरूले केही राहत महसुस गरेका छन्।
समारोहमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडी, नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।





