सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा जानकी पौडेल कुँवरद्वारा पदभार ग्रहण

धनगढी ।सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तारसँगै भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएकी जानकी पौडेल कुँवरले पद तथा गोपनीयताको शपथ लिई मन्त्रालयमा पुगेर विधिवत रूपमा पदभार ग्रहण गरेकी छन्। लामो राजनीतिक संघर्ष र संगठनात्मक अनुभव सँगालेकी राज्यमन्त्री कुँवरको यो पहिलो कार्यकारी जिम्मेवारी हो।

पदभार ग्रहणपछि मन्त्रालयमा प्रतिक्रिया दिँदै राज्यमन्त्री कुँवरले प्रदेशमा सुशासन कायम राख्दै विकास निर्माणका गतिविधिलाई तीव्रता र पारदर्शिताका साथ अघि बढाउने आफ्नो प्रमुख प्राथमिकता रहेको स्पष्ट पारिन्। उनले भनिन्, “हामी अहिले निकै महत्त्वपूर्ण र चुनौतीपूर्ण मोडमा छौँ। मेरो पहिलो प्राथमिकता भनेकै सुशासन कायम गर्ने र विकास निर्माणका कामलाई पारदर्शिताका साथ अघि बढाउने हुनेछ”।

राज्यमन्त्री कुँवरका अनुसार प्रदेशमा भौतिक विकासलाई नतिजामुखी बनाउन नीतिगत तथा व्यावहारिक सुधार आवश्यक छ। सुदूरपश्चिममा बजेट कार्यान्वयनमा देखिँदै आएको अन्योल चिर्नु आफ्नो कार्यकालको प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले सरोकारवाला सबैसँग आवश्यक छलफल गरेर अधुरा तथा अलपत्र आयोजनालाई द्रुत गतिमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

कैलालीको चुरे गाउँपालिका ६ मा वि.सं. २०४५ जेठ ४ गते जन्मिएकी कुँवर हाल गौरीगंगा नगरपालिका ८, मसुरियाकी स्थायी बासिन्दा हुन्। वि.सं. २०५८ मा स्वतन्त्र विद्यार्थी युनियनमार्फत राजनीतिमा प्रवेश गरेकी उनले सशस्त्र द्वन्द्वका क्रममा जनमुक्ति सेनाको सातौँ डिभिजनमा रहेर काम गरेकी थिइन्। वि.सं. २०६९ मा स्वैच्छिक अवकाशपछि महिला मानव अधिकारको क्षेत्रमा सक्रिय रहेकी कुँवर पार्टीको जिल्ला र प्रदेश कमिटी हुँदै वि.सं. २०७९ को निर्वाचनबाट सुदूरपश्चिम प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्।

जनमुक्ति सेनादेखि प्रदेशसभा सदस्य हुँदै मन्त्रिमण्डलसम्मको यात्रा तय गरेकी नवनियुक्त राज्यमन्त्री कुँवरसामु प्रदेशका अधुरा पूर्वाधार योजना समयमै सम्पन्न गर्ने र बजेट विनियोजनमा सन्तुलन कायम गर्दै सुशासन प्रत्याभूत गराउने मुख्य जिम्मेवारी रहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

भर्खरै प्रकाशित


ट्रेन्डिङ