बेलौरी (कञ्चनपुर) ।
कञ्चनपुरको बेलौरीस्थित उग्रतारा बाल विद्यालयमा सञ्चालित राष्ट्रिय सेवा दल (एनसीसी) जुनियर डिभिजन तालिमको स्थलगत अवलोकन तथा निरीक्षण गरिएको छ।

नेपाली सेनाको श्री वराहदल गुल्म, भगतपुर ब्यारेकका प्रमुख सेनानी (मेजर) अशोक शाहीको प्रमुख आतिथ्यतामा तालिमको निरीक्षण तथा विशेष कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा श्री वराहदल गुल्मकै जमदार होमबहादुर गुरुङ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

निरीक्षण पश्चात् विद्यार्थीहरूलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेजर अशोक शाहीले राष्ट्रिय सेवा दल (एनसीसी) ले युवाहरूलाई सही र गलत छुट्याउन सक्ने सचेत नागरिक बनाउने बताउनुभयो। उहाँले एनसीसी तालिमले समाज र राष्ट्र सेवाको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई यस्तो अवसर प्रदान गरेकोमा विद्यालय परिवारलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले आगामी दिनमा पनि क्याडेटहरूले आफ्नो अनुशासन र लगनशीलतालाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

यसअघि कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका संस्थापक गङ्गाप्रसाद रिजालले एनसीसी तालिमले विद्यार्थीहरूमा अनुशासन, राष्ट्रप्रेम र नेतृत्व क्षमता अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्याएको बताउनुभयो। विगतमा यसै विद्यालयकी छात्रा लिजा अधिकारीले एनसीसी तालिममार्फत उत्कृष्ट प्रदर्शन गर्दै ‘युथ एक्सचेन्ज प्रोग्राम’ अन्तर्गत मित्रराष्ट्र माल्दिभ्सको भ्रमण गर्ने अवसर पाएको स्मरण गर्दै संस्थापक रिजालले यस पटकका क्याडेटहरूले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विद्यालय र देशको नाम उच्च राख्ने आशा व्यक्त गर्नुभयो। उहाँले विद्यार्थीलाई दक्ष बनाउन अहोरात्र खटिएका नेपाली सेनाका प्रशिक्षकहरूलाई धन्यवाद दिनुभयो।

विद्यालयका प्रधानाध्यापक केशव विष्टले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा तालिमरत क्याडेटहरूलाई आगामी २१ दिने बन्द प्रशिक्षण (क्याम्प) का लागि शुभकामना व्यक्त गरिएको थियो। प्रधानाध्यापक विष्टले बाँकी प्रशिक्षण अवधिमा पनि उच्च मनोबलका साथ अभ्यास गरी विद्यालयको गरिमा बढाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो।

कार्यक्रममा क्याडेटहरूले अनुशासित मार्चपास तथा शारीरिक कसरत प्रदर्शन गर्नुका साथै सामूहिक रूपमा राष्ट्रिय सेवा दलको राष्ट्रिय गान (NCC Anthem Song) प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, कर्मचारी तथा स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।





